पहिरोको जोखिममा सिंगो बस्ती

पहिरोको जोखिममा सिंगो बस्ती

दैलेख साउन ११ । दैलेखको गुराँस गाउँपालिका–२ बान्द्रे पुरेनी बस्तीमा पहिरो जोखिम बढेको छ । बर्षातल पहिरो जाने क्रम बढेपछि स्थानीय त्रसित भएका छन् । गत मंगलवार देखि पहिरो जान सुरु गरेको स्थानीय जय बहादुर ओलीले बताए । यहाँका दुई वटा घर पहिरोले बगाईसकेको छ । स्थानीय जय बहादुर ओलीको घरमा पूर्ण रुपमा क्षती हुनुका साथै फलफुल बगैचा समेत बगाएको छ भने लालमता विकको घर बगाएको छ ।
गुराँस गाउँपालिकाका उपाध्यक्ष दिपा बिसी लगाएतको टोलीले स्थलगत निरीक्षण गरेपछि यहाँको बस्ती पहिरोको उच्च जोखिममा रहेकाले स्थानान्तरण गर्न पहल थालिएको छ । ‘करिब पाँच सय मिटर माथीबाट पहिरो जान सुरु गरेको छ,’ उपाध्यक्ष विसीले भनिन ‘जुनसुकै समयमा यो बस्ती बग्न सक्ने र ठुलो धनजनको क्षती भएकाले तत्काल बस्ती सार्नुपर्छ ।’
पहिरोको जोखिम बढेपछि ती बस्ती सार्न लागिएको गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए । उनीहरुलाई पालको अस्थायी टहरा निर्माण गरी सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाइएको छ । जोखिम युक्त क्षेत्रमा २४ घरपरिवार मध्ये पहिरोको उच्च जोखिममा रहेका १२ घरपरिवारलाई पाल दिएर सुरक्षित स्थानमा सारिसकिएको अध्यक्ष ओलीले बताए । उनले एक साता भित्र दिर्घकालिन व्यवस्थापनको पहल थाल्ने जनाए ।

प्रतिक्रिया