नेकपा सचिवालय बैठक :३३ विभागको नेतृत्व टुंगो

नेकपा सचिवालय बैठक :३३ विभागको नेतृत्व टुंगो

काठमाडौं : लामो समयको विवादपछि नेकपा सचिवालय बैठकले विभिन्न ३३ विभागको नेतृत्व टुंगो लगाएको छ ।  विवादित बनेको स्कुल विभागको नेतृत्व उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका ईश्वर पोखरेलले पाएका छन् । नेकपा स्कुल विभागमा सचिवालय सदस्य ईश्वर पोखरेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र वेदुराम भुसाललगायतले दाबी गरेका थिए । 

विदेश विभागको नेतृत्व वरिष्ठ नेता माधवकुमार नेपाल, संगठन विभागमा वामदेव गौतम र प्रचारप्रसार विभागमा नारायणकाजी श्रेष्ठले पाएका छन् । 

तीन दिनदेखि लगातार सर्दै आएको नेकपा सचिवालयको बैठक शुक्रबार बिहान ११ बजेपछि बसेको थियो । बिहीबारको बैठक  अन्तिम समयमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण स्थगित भएको थियो । 

साउन १८ गते उपचारका लागि भन्दै प्रधानमन्त्री ओली सिंगापुर गएका थिए। त्यहाँ पनि पूर्वनिर्धारितभन्दा तीन दिन बढी बसेर फर्किए। 

साउन १३ पछि नेकपा सचिवालय बैठक बस्न सकेको थिएन । प्रधानमन्त्री सिंगापुर भ्रमणबाट फर्किएपछि पटकपटक बैठक स्थगित भएको थियो । यसअघि साउन २८ र २९ गते बोलाइएको बैठकसमेत अन्तिम समयमा स्थगित भएको थियो। 

प्रतिक्रिया