प्रधानमन्त्री र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

प्रधानमन्त्री र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा आएका भारतका विदेशमन्त्री सुब्रमन्यम् जयशंकरबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार दिउँसो प्रधानमन्त्री ओलीसँग विदेशमन्त्री जयशंकरले शिष्टाचार भेटवार्ता गरेका हुन् । नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार काठमाडौं आएका जयशंकरले प्रधानमन्त्रीलाई भेटेर राजनीतिक भेटघाट सुरु गरेका हुन् । भारतीय विदेशमन्त्रीको जिम्मेवारी सम्हालेपछि जयशंकरले पहिलो विदेश भ्रमण नेपालबाट थालेका हुन् । बुधबार बिहान सबा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका उनलाई परराष्ट्र सचिव शंकरदास बैरागीले स्वागत गरेका थिए ।

बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, पराराष्ट्र सचिव शंकरदास बैरागी, नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी लगायत सहभागी थिए । तीन वर्षको अन्तरालपछि नेपाल भारत दुईपक्षीय समग्र विषयमा छलफल गर्न २५ सदस्यीय उच्च अधिकारीको नेतृत्व गर्दै जयशंकर काठमाडौं‌ आएका हुन् । संविधान जारी भएलगत्तै भारतले नेपालमा नाकाबन्दी लगाउँदा जयशंकर भारतीय विदेश सचिव थिए । त्यतिबेला पनि उनले नेपाल भ्रमण गरेका थिए । संविधान जारी नगर्न उनले दबाब दिएको प्रमुख दलका शीर्ष नेताहरूले बताउने गरेका थिए ।

२०७२ असोजमा गरेको उक्त राजनीतिक भेटघाटपछिको तीक्तता चिर्न पनि अहिलेको भेटघाट महत्वपूर्ण रहेको अधिकारीहरू बताउँछन् । विदेशमन्त्री जयशंकरले भारतीय दूतावासमा राजनीतिक भेटवार्तासमेत गर्ने कार्यक्रम छ । जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । बैठकमा दुवै मुलुकका परराष्ट्रमन्त्रीहरू प्रदीप ज्ञवाली र एस जयशंकरले आआफ्नो धारणा प्रस्तुत गर्नेछन् । त्यसपछि प्रस्तुत एजेन्डामा विषयगत छलफल हुनेछ । विभिन्न पाँच क्लस्टरमा छलफल भएपछि बैठक बिहीबार सकिनेछ ।

प्रतिक्रिया