राष्ट्रिय परिचयपत्र विधेयक पारित

राष्ट्रिय परिचयपत्र विधेयक पारित

काठमाडौँ, भदौ ११ गते । प्रतिनिधि सभाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । ‘पाइलट प्रोजेक्ट’का रूपमा राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको आठ महिनापछि प्रतिनिधि सभाले विधेयक पारित गरेको हो । 
कानुनबिना परिचयपत्र वितरण गरिएको भन्दै सांसदद्वारा आलोचनासमेत गरिएको थियो । पारित विधेयक अब राष्ट्रिय सभामा पेस हुनेछ । दुवै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउने छ । 
गत मङ्सिरबाटै परिचयपत्र वितरण सुरु गरे पनि कानुन पछि तयार पार्न लागिएको हो । हालसम्म भएका कामकारबाही पारित विधेयकले नै संरक्षण गरे पनि वितरित परिचयपत्रको हकमा भने केही नयाँ व्यवस्था पनि थप भएका छन् । पारित विधेयकले यसअघि वितरण गरिएको परिचयपत्रमा केही विवरण थप गरेको छ । आँखाको विवरण नयाँ परिचयपत्रमा थप हुनेछ । 
पारित विधेयकअनुसार परिचय पत्रमा दुवै हातका दस औँलाको छाप रहनेछ । परिचयपत्रमा विद्युतीय तस्बिर, विद्युतीय छाप लगायतका वैयक्तिक र जैविक विवरण संरक्षित हुनेछन् । जैविक विवरण सङ्कलनका लागि दुवै हातका सबै औँला नभएको व्यक्तिका हकमा सो बेहोरा जानकारी गराई सम्भव भएसम्मका औँलाको छाप लिइनेछ । परिचयपत्रमा व्यक्तिको वैयक्तिक विवरणसँगै आमाबाबुको नाम लगायतको विवरण पनि समेटिनेछ ।
पारित विधेयकमा परिचयपत्र रद्दको व्यवस्था पनि गरिएको छ । उमेर नपुगी लिएको प्रमाणपत्र रद्द हुनेछ । यस्तै अन्य झुटा विवरण पेस गरी लिएको प्रमाणपत्र पनि रद्द हुनेछ । विदेशी नागरिकले परिचयपत्र लिएको पुष्टि भएमा सो परिचयपत्र पनि रद्द हुनेछ । 
परिचयपत्र वाहक व्यक्तिको नेपालको नागरिकता नरहेमा वा त्याग गरेमा पनि राष्ट्रिय परिचयपत्र रद्द हुनेछ । परिचयपत्र प्राप्त गरेको व्यक्तिको मृत्यु भएमा पनि त्यस्तो परिचयपत्र कायम नरहने विधेयकमा व्यवस्था गरिएको छ ।
परिचयपत्रमा संलग्न वैयक्तिक र जैविक विवरणको गोप्यता कायम गर्नुपर्ने पारित विधेयकमा उल्लेख छ । त्यस्ता विवरणको रुजूसमेत गोप्य रूपमा नै गर्नुपर्नेछ । कुनै पनि कसुरको अनुसन्धानको सिलसिलामा अधिकारप्राप्त निकायले माग गरेमा भने त्यस्तो विवरण उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ । कुनै अदालतले माग गरेमा, व्यक्ति स्वयंले माग गरेमा पनि विवरण उपलब्ध हुन सक्नेछ ।  

प्रतिक्रिया