गाईगोरु मृत्यु प्रकरण : छानबिन समितिद्वारा प्रतिवेदन पेश

गाईगोरु मृत्यु प्रकरण : छानबिन समितिद्वारा प्रतिवेदन पेश

काठमाडौं ९ असोज, नेपालगञ्जबाट दैलेख पठाईएको भनिएको गाईगोरु सुर्खेतको कटकुुवा जङ्गलमा मरेको घटनाका सम्बन्धमा छानबिन गर्न बनेको समितिले गृहमन्त्री रामबहादुर थापालाई आफ्नो प्रतिवेदन बुझाएको छ ।गृह मन्त्रालयका अनुसार छानबिन समितिले उक्त घटनामा केही व्यक्ति दोषी देखिएकाले कारवाहीका लागि सिफारिस गर्दै बुधबार गृहमन्त्री थापालाई प्रतिवेदन पेश गरेको हो । प्रतिवेदन बुझ्दै गृहमन्त्री थापाले प्रतिवेदनको सिफारिसका आधारमा दोषीलाई कारवाही गर्ने प्रतिबद्धता जनाए ।

गत भदौ १२ गते बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाईएको भनिएको झण्डै ३०० मध्ये ३५ गाईगोरु सुर्खेतको कटकुवा जङ्गल आसपास क्षेत्रमा मृत फेला परेका थिए । घटनापछि भदौ १४ गते गृह मन्त्रालयले गाईगोरुको अस्वभाविक मृत्यु भएको भन्दै घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारवाहीको सिफारिस गर्न मन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

समितिले घटनास्थलका साथै बाँके, सुर्खेत, दैलेखका सम्बद्ध अधिकारी, स्थानीय समुदाय, नेपालगञ्ज उपमहानगरपालिकाका पदाधिकारी, नगर प्रहरी, ट्रक चालक लगायतसँग भेटेर छलफल र स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेको संयोजक पाठकले जानकारी दिए ।

सो घटनामा नेपालगञ्ज उपमहानगरपालिकाको लापरवाही देखिएको भन्दै स्थानीयले कारवाहीको माग गरेका थिए । उपमहानगरपालिकाको अगुवाइमा ती गाईगोरुलाई यहाँको काञ्जीहाउसबाट दैलेख पठाउने क्रममा उक्त घटना भएको थियो । उपमहानगरपालिकाले नियतबस घटना भएको अस्वीकार गर्दै आएको छ ।

प्रतिक्रिया