कुपोषणविरूद्ध राष्ट्रिय अभियान

कुपोषणविरूद्ध राष्ट्रिय अभियान

काठमाडौं १६ कार्तिक : बालबालिकामा विद्यमान कुपोषण र गरिबीविरुद्धको राष्ट्रिय अभियान सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राष्ट्रपति भवन शितल निवासबाट यो अभियान कार्यान्वयनमा आएको हो।

समुद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले कुपोषणविरुद्ध सहयोगका लागि प्रदेश सरकार र स्थानीय तहलाई आग्रह गरिन्। संविधानले प्रत्येक बालबालिकालाई शिक्षा, स्वास्थ्य, पोषणको अधिकार दिएको स्मरण गर्दै राष्ट्रपति भण्डारीले बालबालिकाको सर्वांगिण विकासका लागि सुपोषित हुनु आवश्यक रहेको बताइन्।

यस बृहत् अभियानलाई अगाडि बढाउन गैरनाफामूलक बलियो नेपाल नामक संस्था स्थापना गरिएको छ। नेपालमा आ–आफ्नो क्षेत्रमा पुर्याएको योगदानका कारण ख्याति कमाएका व्यक्तित्व बलियो नेपालको बोर्डमा छन्। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्ले अध्यक्ष रहेको बलियो नेपालको बोर्डमा नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरी, क्रिकेटर पारस खड्का, नविल बैंकका सीईओ अनिल शाह र पोषणविद् डा. उमा कोइराला छन्।

बलियो नेपालका अध्यक्ष डा. वाग्लेले यस अभियानको सुरूवात ६ महिनादेखि २३ महिनासम्मका बालबालिकामा देखिने कुपोषणको जोखिम न्यून गर्ने बताए। यसका लागि निजी क्षेत्रसँगको सहकार्यमा पोषणयुक्त लिटो र अण्डा कुपोषित बालबालिकाको पहु“चमा पुर्याउने गरी कार्यक्रम तय भएको उनले बताए। ‘हाम्रो विशेष ध्यान बालबालिकाका साथै किशोरी, प्रजनन उमेरका महिला, गर्भवती तथा सुत्केरीमा हुनेछ। यसबाट आउने पुस्ता वर्तमान पुस्ताभन्दा अझ बलियो र स्वस्थ भएर राष्ट्र निर्माणमा सक्रिय हुन सकुन् भन्ने हाम्रो चाहना छ।’

चौधरी ग्रुप एवं चौधरी फाउन्डेसनका अध्यक्ष विनोद चौधरीको विशेष पहलमा यो अभियान नेपालमा कार्यान्वयनमा आएको हो। अध्यक्ष चौधरीले विल एन्ड मेलिन्दा गेट्स फाउन्डेसनसँग चौधरी ग्रुपले सहकार्य गर्ने गरी यस कार्यक्रमलाई नेपालमा कार्यान्वयन गर्न विशेष पहल गरेका थिए। ‘हाम्रा बालबालिका देशका भविष्य हुन्। उनीहरूलाई भौतिक र मानसिक रूपमा बलियो बन्ने वातावरण बनाउनु हाम्रो अहिलेको जिम्मेवारी हो’, अध्यक्ष चौधरीले भने, ‘हाम्रा बालबालिका कुपोषणको शिकार भइरहेका छन्। उनीहरूलाई कुपोषणबाट बाहिर निकाल्न एउटा बृहत् अभियानको खा“चो छ। यही उद्देश्यका साथ चौधरी फाउन्डेसनले विल एन्ड मेलिन्दा गेट्स फाउन्डेसनसँग सहकार्य अगाडि बढाएको हो।’

नेपालका नया“ अनुभवलाई कुपोषणविरुद्धको प्रभावकारी कदमका रूपमा भविष्यमा अन्य देशमा लागू गर्न सकिने विश्वास गरिएको छ। अध्यक्ष चौधरीले यो अभियानमा निजी क्षेत्रलाई प्रभावकारी रूपमा परिचालन गरी कुपोषणविरुद्ध उपलब्धि हासिल गरेरै छाड्ने प्रतिबद्धता जनाए।

पहिलो चरणमा यो अभियान प्रदेश ५ मा लागू गरिएको छ। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले यस अभियानका लागि आफ्नो प्रदेश छानिएकोमा खुसी व्यक्त गर्दै यसको सफल कार्यान्वयनका लागि प्रदेश सरकारले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प क“डेलले कुपोषणविरूद्धको अभियानमा निजी क्षेत्रको संलग्नतालाई स्वागत गर्दै यसबाट भविष्यमा अपेक्षित नतिजा प्राप्त हुने विश्वास व्यक्त गरे। सीएनआईका उपाध्यक्ष चौधरीले यस अभियान अगाडि बढाउन दुई वर्षदेखि गरिएका पहलबारे जानकारी दिए। ‘हाम्रा बालबालिकाप्रति समर्पित अभियान सुरु भएको छ। यसलाई सफल बनाएर हामीले विश्वमा नया“ उदाहरण प्रस्तुत गर्नुपरेको छ’, उनले भने।

प्रतिक्रिया