उपनिर्वाचन २०७६ : यसरी हुँदैछ तयारी

उपनिर्वाचन २०७६ : यसरी हुँदैछ तयारी

काठमाडौँ मंसिर १३ – शनिबार हुने उपनिर्वाचनका लागि खटिएका कर्मचारीलाई मतदान केन्द्र व्यवस्थापन र अन्य तयारीका लागि व्यस्तता बढेको छ भने सम्बन्धित क्षेत्रका मतदाता आफ्नो अमूल्य मतदानका लागि व्यग्र प्रतीक्षामा छन् । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका लागि हुन लागेको उपनिर्वाचनका लागि ती जिल्लामा तयारी पूरा भएको छ । निर्वाचन आयोगले सबै मतदान केन्द्रमा खटिएका कर्मचारी पुगिसकेका र मतपत्र, मतपेटिकालगायत आवश्यक सामग्री पठाइसकिएको जनाएको छ । कूल ३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा कर्मचारीको खटनपटन भइसकेको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार उपनिर्वाचनका लागि कूल पाँच हजार ५३२ कर्मचारी खटाइएको छ । निर्वाचनका लागि यसअघि आचारसंहिता लागू भइसकेको छ भने अहिले मौन अवधि जारी छ । यही मंसिर ११ गते रातिदेखि मौन अवधि सुरु भएकाले सामाजिक सञ्जालमा समेत प्रचारप्रसार निषेध गरिएको छ ।निर्वाचनका लागि गृह मन्त्रालयको संयोजकत्वमा सबै सुरक्षा निकायको सहभागितामा सुरक्षाकर्मी खटनपटन भइसकेको छ । सुरक्षाको तयारी र समीक्षा गर्न गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा शुक्रबार सिंहदरबरमा बैठक सम्पन्न भएको छ । शनिबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन हुनेछ । गत साउन १६ गते १८ वर्ष पूरा भई फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले यस निर्वाचनमा मतदान गर्न पाउनेछन् । मतदानका लागि मतदाता परिचयपत्र अनिवार्य गरिएको छ । मतदान केन्द्रको भित्री घेरामा नेपाल प्रहरी, बीचमा सशस्त्र प्रहरी र बाह्य घेरामा नेपाली सेना रहनेछ ।
निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ, मर्यादित र निष्पक्ष तुल्याउन संविधानविरोधी एवं अराजक गतिविधि हुन नदिन सुरक्षा सतर्कता र कडाइ अपनाइएको छ । निर्वाचनका लागि अनुगमनकर्ता, अधिकारकर्मी र सञ्चारकर्मीलाई पासको व्यवस्था गरिएको छ । मतदान हुने क्षेत्रमा मदिरा बिक्री वितरण र सेवन निषेध गरिएको छ भने मतदान केन्द्र तोकिएका विद्यालयको पठनपाठन तीन दिनका लागि बन्द गरिएको छ । निर्वाचन हुने र भारतसँग सीमा जोडिएका कतिपय नाका निर्वाचनका अवधिमा बन्द रहनेछ । सुरक्षालगायत अन्य तयारी पूरा गरेको आयोगले मतदातालाई ढुक्क भएर आफ्नो अमूल्य मत मतपेटिकामा रुपान्तरण गर्न आग्रह गरिसकेको छ । निर्वाचन हुने विभिन्न जिल्लाबाट राससका समाचारदाताले पठाएको विववरणमा अधिकांश क्षेत्रमा तयारी पूरा भएको जनाइएको छ ।
कास्की : मतदाता आतुरकास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा मतदान गर्न मतदाता आतुर छन् । निर्वाचन शान्तिपूर्ण ढङ्गले भयरहित वातावरणमा सम्पन्न हुनेमा मतदाता विश्वस्त रहेकाले उत्साहका साथ मतदान गर्न आफूहरु आतुर रहेको चण्डी सामुदायिक मावि मतदान केन्द्रका मतदाता शान्ता पौडेलले बताइन् । यस क्षेत्रमा १० राजनीतिक दल र ११ स्वतन्त्र गरी २१ उम्मेदवार मैदानमा छन् । दिवङ्गत नेता एवं तत्कालीन मन्त्री रवीन्द्र अधिकारीको क्षेत्रमा हुने निर्वाचनलाई राष्ट्रियरुपमै महत्वका साथ गरिएको छ ।कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको र निर्वाचनमा मानवअधिकारविरोधी र संविधानविपरीतका क्रियाकलाप गर्ने व्यक्तिमाथि निगरानी बढाइएको बताए । शंकास्पद गतिविधि देखिनासाथ सुरक्षाकर्मीलाई तत्कालै पक्राउ गर्न निर्देशनसमेत दिइसकिएको उनले जानकारी गराए । त्यस्ता, हर्कत गर्ने व्यक्ति देखिनासाथ सर्वसाधारणलाई पनि अविलम्ब नजिकको प्रहरीलाई जानकारी गराउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
कास्की क्षेत्र नं २ अन्तर्गत पोखरा महानगरपालिकाको ११ वडाका ७१ हजार ८७१ मतदाता छन् । ती मतदाताकाले ८२ मतदान केन्द्रबाट मतदान गर्नेछन् । निर्वाचन सम्पन्न गराउनका लागि ४१० कर्मचारी परिचालन गरिएको छ ।दाङ : मतदान केन्द्र आसपासका प्रचार सामग्री हटाइँदैदाङका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार सबै मतदान केन्द्रमा मतदान सामग्रीसहित पुगेका मतदान अधिकृतले मतदानका लागि आवश्यक पर्ने केन्द्र बनाइसकेका छन् । सुरक्षा प्रबन्धका लागि जिल्लामा सर्वदलीय बैठक गरिएको छ । बैठकले मतदान केन्द्र आसपासमा राखिएका प्रचार सामग्री हटाउने सहमति गरेको छ । दाङ निर्वाचन क्षेत्र नं ३ को (ख) मा ३२ मतदानस्थल र ७७ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

चितवन : मदतानस्थलदेखि गणनासम्म सिसि क्यामरा

जिल्लामा उपनिर्वाचन हुने वडाहरुको मतदानदेखि गणनास्थलसम्म सिसी क्यामेरा राखेर निगरानी गरिने भएको छ । भरतपुर महानगरपालिका-१६ र खैरहनी नगरपालिकाको- ४ एवं ५ मा शनिबार उपनिर्वाचन हुँदैछ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले मतदान केन्द्र रहेका कतिपय विद्यालयमा यसअघि नै सिसी क्यामेरा भएकाले त्यसलाई उपयोग गरिएको र आवश्यकतानुसार अन्य केन्द्रमा पनि जडान गरिएको बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले आवश्यकतानुसार सिसी क्यामेरा जडानको काम भइरहेको जानकारी दिए । भरतपुर महानगरपालिका-१६ को मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको चितवन जिल्ला अदालत परिसर र खैरहनीको पुरानो नगरपालिका भवनमा मतगणना हुनेछ ।
बाग्लुङ : मतदान केन्द्रमा काम सुरुउपनिर्वाचनका लागि मतदान केन्द्रमा तारबारलगायतको काम सुरु भएको छ । मतदान अधिकृत प्रदीपचन्द्र सुवेदीका अनुसार सबै मतदान केन्द्रमा जनपथ र सशस्त्र प्रहरी पुगिसकेको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए । नेपाली सेनाले पनि मतदान केन्द्रको बाहिरी सुरक्षा दिएको छ । निर्वाचनका कारण पश्चिम बागलुङमा चहलपहल बढेको छ । काम विशेषले बाहिर रहेका व्यक्ति फर्केका छन् । प्रदेशसभाका लागि बागलुङ २ (ख) र बडिगाड गाउँपालिका-२ को वडाध्यक्षमा निर्वाचन हुँदैछ ।जिल्लामा २५ मतदानस्थलका ४५ मतदान केन्द्रमा गरी २१५ कर्मचारी खटिएका छन् । प्रदेशसभा सदस्य निर्वाचनका लागि ३७ हजार मतदाताले मताधिकार प्रयोग गर्नेछन् । बडिगाड गाउँपालिका-२ मा वडाध्यक्षका लागि एक हजार ७७५ मतदाताले मताधिकार प्रयोग गर्नेछन् ।
मतदातालगायत सर्वसाधारणलाई आइपर्न सक्ने सम्भावित स्वास्थ्य समस्यालाई दृष्टिगत गरी जिल्ला स्वास्थ्य कार्यालय बागलुङले सम्बन्धित पालिकामा रहेका स्वास्थ्य संस्था खुला राख्न निर्देशन दिएको छ । एम्बुलेन्स र अत्यावश्यक सवारीसाधन पनि तयारी अवस्थामा राख्न अनुरोध गरिएको कार्यालयका निमित्त प्रमुख घनश्याम सापकोटाले बताए । बागलुङ २ (ख) अन्तर्गत ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाले सेवा प्रवाह गर्नेछन् । प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको निधनपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । यस्तै वडाध्यक्ष विष्णुप्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख भएपछि उक्त पदमा उपनिर्वाचन हुने भएको हो ।
पर्सा : मौन अवधिको पालना
पश्चिमी पर्साको सखुवाप्रसौनी गाउँपालिका-५ को वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा मतदान अधिकृत र सहायक मतदान अधिकृत, कर्मचारी तथा स्वयंसेवकलाई तालीम दिई खटाइएको छ । जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाका अनुसार मतदान केन्द्रमा मौन अवधि सुरु भएकाले प्रचारप्रसार बन्द भएको छ ।
बैतडी : सुरक्षाकर्मीसहित जनशक्ति परिचालन
उपनिर्वाचनका लागि बैतडीमा सुरक्षाकर्मीसहित करीब ४५० जनशक्ति परिचालन गरिएको छ । उपनिर्वाचन हुने दोगडाकेदार-४, सुर्नया गाउँपालिका-१ र पुर्चौडी नगरपालिका-४ मा ३०० बढी सुरक्षाकर्मी र ५४ कर्मचारी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । कसैको डर, त्रास तथा लोभलालचमा नपरी आफूलाई मनपर्ने उम्मेदवारलाई मतदान गर्नसमेत जिल्ला प्रशासन कार्यालय बैतडीले अनुरोध गरेको छ ।
सो गाउँपालिका-४ मा केदार मावि पिपलकोट र हुनैनाथ आधारभूत विद्यालय कपिन्ना मतदानस्थल तोकिएको छ । सुर्नया गाउँपालिका-१ को साविकको गाविस भवन गुर्केलीलाई मतदानस्थल तोकिएको छ । यस्तै पुर्चौडी नगरपालिका-४ को महादेव मावि सिवाबो र पहरौल मावि बाङ्गालाई मतदानस्थल तोकिएको छ ।
उपनिर्वाचनमा तीनवटै वडामा गरी महिलाभन्दा ११० पुरुष मतदाता बढी रहेका छन् । कूल चार हजार ३३६ मतदाता रहेकामा दुई हजार २२३ पुरुष र दुई हजार ११३ महिला मतदाता रहेका बैतडीका निर्वाचन अधिकारी माधव फुँयालले जानकारी दिए।
कञ्चनपुर : मतदान केन्द्र निर्माण
पुर्नवास नगरपालिका-३ मा वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनस्थलमा सुरक्षाकर्मी, निर्वाचन अधिकृत, कर्मचारीसहितको टोली निर्वाचन सामग्री लिएर पुगेको छ । अहिले सुरक्षाकर्मीले मतदानस्थलमा मतदान केन्द्र निर्माण गर्ने कार्य अगाडि बढाएको मुख्य निर्वाचन अधिकृत गोपलाप्रसाद बाँस्तोलाले जानकारी दिए ।
उपनिर्वाचनका लागि गोरखा माध्यमिक विद्यालयमा राखिएको मतदानस्थलमा दुई मतदान केन्द्र निर्धारण गरिएका छन् । एक हजार एक ९९ मतदाता रहेको वडामा पुरुष ५५९ र महिला मतदाता ६४० रहेका छन् । ‘क’ मतदान केन्द्रमा ६१६ र ‘ख’ मतदान केन्द्रमा ५८३ मतदाताले मतदान गर्ने गरी केन्द्र निर्धारण गरिएको छ । मतदानस्थलको सुरक्षका लागि १५० नेपाल प्रहरी र १५० कै सङ्ख्यामा सशस्त्र प्रहरीलाई खटाइएको छ ।
डोटी : मतदाता परिचयपत्र वितरण सुरुजिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका-२ मा वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनका लागि तोकिएका मतदानस्थलबाट मतदाता परिचयपत्र वितरण गर्ने कार्य सुरु गरिएको मुख्य निर्वाचन विदुर काफ्लेले जानकारी दिए । निर्वाचनका लागि शारदा मावि मौवानगरदह, कोटान्जर मावि, कोटान्जर तथा साउदकडा माविलाई मतदानस्थल तोकिएको छ ।
विसं २०७४ मा आफ्नो मतदाता परिचयपत्र लैजान छुटेका तथा यही वर्षको साउन १६ गते १८ वर्ष पूरा भई मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताको परिचयपत्र पनि वितरण भइरहेको छ । जिप दुर्घटनामा परी तत्कालीन वडाध्यक्ष प्रेम बोहराको निधन भएपछि अहिले उपनिर्वाचन हुन लागेको हो ।

महोत्तरी : हिंसात्मक घटना हुन नदिइने

पिपरा गाउँपालिकाको अध्यक्ष र मटिहानी तथा वलवा नगरपालिकाका वडाध्यक्षका लागि हुन लागेको उपनिर्वाचनलाई भयरहित निष्पक्ष एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भएको छ । कूल २२ हजार ९२० मतदाता रहेको यहाँको उपनिर्वाचनलाई लक्षित गर्दै मतदान केन्द्रको वातावरणलाई व्यवस्थित बनाउन कुनै कसर बाँकी नराखेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए ।
निर्वाचनमा हिंसात्मक घटना हुन नदिन मतदान केन्द्रमा आवश्यक सुरक्षा व्यवस्था मिलाइएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । महोत्तरीमा १९ मतदानस्थल र २९ मतदान केन्द्र तोकिएको छ । कान्तिपुरबाट साभार गरिएकाे ।

प्रतिक्रिया