प्रधानमन्त्रीको भिडियो सन्देशले उब्जाएका प्रश्न

प्रधानमन्त्रीको भिडियो सन्देशले उब्जाएका प्रश्न

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाका बारे टीका टिप्पणी जारी रहँदा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले ट्विटमार्फत् मिडिया र पत्रकारप्रति रोष प्रकट गरे ।

उनले ट्विटरमा लेखे, ‘कुन ‘तत्व’ले हाम्रा मिडियाहरूलाई आधारहीन समाचार प्रेषित गर्न प्रेरित गर्छ होला ?! मिडियामा आउने यस्ता ‘उडन्ते’ समाचार देख्दा दुःख मात्रै हैन, मीडियाकर्मीको स्तरप्रति पनि दया लाग्छ । मूलधारका मिडियाहरूले आफूलाई यसरी ‘बतासे’ नबनाए उनीहरू कै भलो हुने थियो की ?’

उनको ट्विटमाथि प्रतिक्रिया ओइरिए । प्रतिक्रियामा धेरैले प्रधानमन्त्रीको सचिवालय, सल्लाहकारहरू, सूचना संयन्त्रमाथि प्रश्न गरे । ट्विटमा उनले मिडियामा आएका प्रधानमन्त्रीबारेका समाचार ‘उडन्ते’ भएको र मिडियाप्रति ‘दया लाग्ने’ बताए । उक्त ट्विटमा रिमालले मूलधारका मिडियाले आफूलाई ‘बतासे’ बनाएको आरोप लगाउँदै यस्तो ‘नबनाए उनीहरूकै भलो हुने’ उल्लेख गरेका छन् ।

प्रश्न मिडियामाथि कि सचिवालयमाथि ?

प्रश्न मिडियामाथि उठाउने कि प्रधानमन्त्रीको सचिवालय र सल्लाहकारमाथि ? भन्ने अर्को अहम् प्रश्न उब्जिएको छ ।

यस्तो प्रश्न उब्जिनुका कारण छन् ।

पहिलो, प्रधानमन्त्री मुलुकका कार्यकारी प्रमुख हुन् । उनको निस्क्रियता, अस्वस्थता, व्यस्तता आदिले मुलुकको समग्र दैनिक प्रशासनदेखि कूटनीतिक कार्यहरूमा समेत असर पर्छ ।

दोस्रो, महत्त्वपूर्ण राष्ट्रिय जिम्मेवारी लिएर पदमा रहेका प्रधानमन्त्रीको यथार्थ स्वास्थ्य अवस्थाबारे जनताको चासो अस्वाभाविक होइन ।

कुनै अमुक राजनीतिक दलका नेता हुनु अलग कुरा हो, प्रधानमन्त्री बनिसकेपछि उनी सम्पूर्ण नेपाली जनताका अभिभावक पनि हुन् । र, अभिभावकबारे जनताको चासोलाई अन्यथा भन्न मिल्दैन ।

तेस्रो, प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा जति टीका टिप्पणी आए, आइरहेका छन्, ती ‘उडन्ते’ वा ‘बतासे’ मात्र होइनन् भन्ने आधार प्रशस्त छन् ।

कारण, उनका बारेमा उनको सचिवालय र सल्लाहकारहरूले पटक पटक दिएका ‘गलत सूचना’लाई पुष्टि गर्ने बाटाहरू सचिवालय र सल्लाहकारहरू मात्र होइनन् भन्ने बुझ्नुपर्छ ।

स्वतन्त्र विज्ञहरू, विशेषज्ञ चिकित्सकहरू, उनका पारिवारिक सदस्यहरू, निकटस्थ अन्य व्यक्तिहरूलाई प्रधानमन्त्रीको सचिवालय र सल्लाहकारलाई भन्दा बढी र गहन अनि वास्तविक जानकारी हुन सक्दैन भन्ने कुनै आधार दिन सक्छन् विष्णु रिमाल वा सूर्य थापाहरूले ?

सन्दर्भ प्रधानमन्त्रीको स्वास्थ्यकै ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे ‘भ्रामक’, ‘नियोजित’, ‘उडन्ते’ र ‘बतासे’ समाचार मिडियाले लेखे भन्नुभन्दा पहिला विष्णु रिमाल वा सूर्य थापालगायतका प्रधानमन्त्री सचिवालय, सल्लाहकार टिमका सदस्यहरूले यी तथ्यको जवाफ दिन सक्छन् ?

– प्रधानमन्त्री लामो समयदेखि मिर्गौलाको समस्याबाट ग्रस्त छन् । एक पटक उनका मिर्गौला प्रत्यारोपण भई त्यसको अवधि सकिएर सातामा तीन–चार पटकसम्म नियमित डायलाइसिस गरिरहनुपरेको छ ।

– यहीबीच विदेश (सिंगापुर) एकै महिनामा दुई पटक गएर उपचार गराएर आइसकेका छन् ।

– पुनः मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लैजाने तयारी भइरहेकामा यहीँ नेपालमै आफन्तले मिर्गौला दिने भनेपछि केही समय पर्खिइएको हो ।

– प्रधानमन्त्रीको नियमित डायलाइसिस भइरहेका बेला अचानक एपेन्डिसाइटिस भएर आपतकालीन शल्यक्रिया गरियो ।

– एपेन्डिसाइटिस सामान्यतयाः ६ घन्टाभित्र शल्यक्रिया गरिसक्नुपर्ने गम्भीर रोग हो तर प्रधानमन्त्रीलाई ११ घन्टापछि मात्र उनको शल्यक्रिया गरियो ।

– ढिला भएका कारण उनको एपेन्डिसाइटिस फुट्यो र त्यो फोहोर पेटमा फैलिई पेरिटोनाइटिस भयो ।

– पेरिटोनाइटिसको गम्भीर संक्रमणका कारण प्रधानमन्त्रीलाई अहिले पनि आइसीयूमै राखेर उपचार गरिरहनुपरेको अवस्था छ ।

– अस्पतालले ‘आधिकारिक’ विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्यबारे ‘सुधारोन्मुख’, ‘राम्रो’ भनेर उल्लेख गर्छ तर हामी त्यस विज्ञप्तिलाई विश्वास गरिहाल्न सक्दैनौँ । यसको कारण छ, विगतमा पनि यस्ता ‘केस’मा अस्पतालले ‘दबाब’मा परेर ‘नियोजित’ विज्ञप्तिहरू जारी गरेको छ र तथ्य लुकाइएको छ ।

– प्रधानमन्त्रीको सचिवालय र सल्लाहकारहरूमा प्रधानमन्त्रीका बारेमा यथार्थ जानकारी हुँदैन । तर, उनीहरूलाई ‘हामीलाई थाहा छैन’ भन्न लाज लाग्छ र जे भए पनि ‘ठोकिदिइहाल्ने’ मानसिकताबाट गलत सूचना दिइरहेका हुन्छन् ।

– यसर्थ, मिडिया र पत्रकारले अस्पताल र सचिवालय तथा सल्लाहकारको सूचनाको मात्र भरपर्दैनन् अनि अन्य बढी ‘भरपर्दा’ र ‘विश्वसनीय’ स्रोततिर लाग्छन् ।

– यस्ता स्रोत माथि भनिएझैँ स्वतन्त्र विज्ञ, प्रधानमन्त्रीका नातेदार तथा निकटस्थहरू हुन सक्छन् । र, उनीहरूले दिएका सूचनाचाहिँ बढी भरपर्दा र विश्वसनीय हुन्छन् ।

हो, यस्तैयस्तै स्रोतबाट प्राप्त बढी विश्वसनीय सूचनाहरू प्रधानमन्त्रीका सचिवालयमा रहेका र सल्लाहकारहरूलाई पक्कै पनि ‘उडन्ते’ र ‘बतासे’ लाग्छन् तर ती ‘बाहिरी’ सूचनाचाहिँ आधिकारिक हुन्छन् ।

आधिकारिक भन्नु गलत सूचना होइन, यथार्थ सूचनाचाहिँ हो भन्ने रिमालजी र थापाजीहरूले बुझ्नुपर्छ ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे उनकै उपचारमा संलग्न एक वरिष्ठ चिकित्सकको भनाइ अनौठो छ । उनी प्रधानमन्त्रीको स्वास्थ्य अवस्था छिनछिन कमजोर बन्दै गएको बताउँछन् ।

प्रधानमन्त्रीको शरीरमा संक्रमण फैलँदो रहेको, हातका औँलाहरू खुम्चिन थालेका, रोग प्रतिरोधी क्षमतामा छिनछिनमा ह्रास आइरहेको बताउँछन् ।

तर, प्रधानमन्त्रीको सचिवालय, सल्लाहकारहरू र अस्पताल भने ‘गज्जब’, ‘सुधारोन्मुख’ आदि भन्दै विज्ञप्ति र अभिव्यक्तिमा उल्लेख गर्छन् ।

अनौपचारिक कुराकानीका क्रममा प्रधानमन्त्रीकी जीवनसंगिनी राधिका शाक्यले निकटस्थहरूसँग प्रधानमन्त्रीको स्वास्थ्य उपचार प्रक्रियाप्रति गुनासो गर्न थालेका तथ्यहरू सार्वजनिक हुन थालेका छन् ।

अब बोलौं, छ त आधार?

रिमालजी, थापाजी, के यी माथिका चिकित्सक र प्रधानमन्त्रीकी जीवनसंगिनीका भनाइलाई ‘होइन’ भनेर पुष्टि गर्न सक्नुहुन्छ ?

के चौबीसै घण्टा स्वास्थ्य निगरानीमा रहनुभएका प्रधानमन्त्रीको एपेन्डिसाइटिसको उपचार, जुन ६ घन्टाभित्र हुनुपथ्र्यो, त्यो ११ घन्टापछि गरिँदा एपेन्डिक्स फुटेको होइन भन्ने आधार दिन सक्नुहुन्छ ?

के प्रधानमन्त्री, जसलाई औषधिका कारण उत्साहित र उत्प्रेरित गराइरहिएको अवस्था छ, यस्तो अवस्थामा सामान्य मानिसझैँ प्रधानमन्त्रीलाई अनावश्यक रूपमा बढी व्यस्त बनाएर उनको स्वास्थ्यमाथि पार्टी, सचिवालय र सल्लाहकारहरूले आफ्नो दुनो सोझ्याइरहेका छन् भन्ने तथ्यलाई गलत सावित गर्न सक्नुहुन्छ ?

राधिका शाक्यकै भनाइअनुसार भन्ने हो भने प्रधानमन्त्रीलाई उनका ‘आसेपासे’ले यति व्यस्त बनाइरहेका छन् कि उनी जस्तोसुकै कमजोर अवस्थामा पनि जुरुक्क उठेर हिँड्न थाल्छन् । कति पटक त विष्णु पौडेल र राधिका शाक्यले उनलाई समातेर जबर्जस्ती बसाउनुपरेको छ ।

यो ‘अमानवीय’ व्यवहार हो कि होइन ? रिमालज्यू, थापाज्यू ?

प्रश्नै प्रश्न

राज्यप्रतिको थोरै दायित्व र जिम्मेवारी महसुस सल्लाहकारलाई हुन जरुरी छ । प्रधानमन्त्रीको अवस्था, जो जीर्ण र विदीर्ण बन्दै गएको छ, त्यसका बारेमा सत्यतथ्य सूचना जनतालाई दिएर आफ्नो दायित्व निर्वाह गर्नुपर्छ कि मिडिया र पत्रकारलाई गाली गरेर आफ्नो गैरजिम्मेवारीलाई ढाकछोप गर्ने ?

मानिसको आरामपूर्वक बाँच्न पाउने, बिरामी हुँदा पर्याप्त आराम गर्न र शान्तसँग बस्न पाउने अधिकारप्रति तपाईंहरूले ध्यान दिनुपर्छ कि पर्दैन ? तपाईंहरू खास सल्लाहकार र शुभचिन्तक हो भने प्रधानमन्त्रीको यस्तो गम्भीर स्वास्थ्य अवस्थालाई ख्याल गरेर पर्याप्त उपचार तथा आरामका लागि प्रधानमन्त्रीलाई ‘सक्रिय’ कार्यकारीबाट ‘अभिभावक’का रूपमा रहन सल्लाह र सुझाव दिनुपर्छ कि पर्दैन ? अहिलेको प्रमुख प्रश्न पनि यही नै हो ।

प्रश्न त पछिल्लो समय प्रधानमन्त्री स्वयंले अस्पतालको आईसीयूबाटै आफू ‘स्वस्थ रहेको’ भिडियो सन्देश सार्वजनिक भएपछि झनै बढी चर्कियो ।

किनभने यदि अस्पताल, सचिवालय र सल्लाहकारप्रति जनताको विश्वास थियो भने आईसीयूमा रहेका बिरामी प्रधानमन्त्रीले आईसीयूबाटै आफू स्वस्थ रहेको भिडियो सन्देश दिनुपर्ने थिएन ।

यसले आमजनममा तपाईं सल्लाहकार, सचिवालय सदस्य र अस्पतालमाथिको अविश्वास बढेको प्रस्ट पार्दै छ ।

अर्को गम्भीर प्रश्न, के आईसीयूमा रहेका बिरामीलाई भिडियो सन्देश, त्यो पनि आईसीयू कक्षबाटै दिनुपर्ने अवस्था आउनु सही हो, चिकित्सकीय तथा कानुनी र नैतिक हिसाबले ? बिडम्वना, यस्तो कार्य गर्न सचिवालय र सल्लाहकारहरूले नै प्रेरित गरिरहेका छन् । शिलापत्र मार्फत साभार

प्रतिक्रिया