विजय गच्छदारको सांसद पद गुम्यो (विज्ञप्ति सहित)

विजय गच्छदारको सांसद पद गुम्यो (विज्ञप्ति सहित)

काठमाडौं : संसद सचिवालयले कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदारको सांसद पद निलम्बनमा परेको जानकारी दिएको छ। सचिवालयले शुक्रबार विज्ञप्ति जारी गरी भ्रष्टाचार निवारण ऐन अनुसार गच्छदारको पद निलम्बनमा परेको जानकारी दिएको हो।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्ति तथा संस्थाको नाममा कायम गरि हिनामिना गरेको आरोपमा अख्यितार दुरुपयोग अनुसन्धान आयोगले गच्छदार लगायत १ सय ७५ विरुद्ध विशेष अदालतमा माघ २२ गते मुद्वा दायर गरेको थियो। अख्तियारले गच्छदारविरुद्ध परेको मुद्दाको जानकारी संसद सचिवालयलाई गराएसंगै सचिवालयले पनि सूचना जारी गरेको हो।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र यस सचिवालयमा प्राप्त हुन आएकाले प्रतिनिधि सभाका माननीय सदस्य विजयकुमार गच्छदार भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ बमोजिम २०७७र१०र२२ देखि स्वतः निलम्बन हुनुभएकोले यो सूचना प्रकाशित गरिएको छ,’ संसद सचिवालयका निमित्त महासचिव गोपालनाथ योगीद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ।

भ्रष्टाचार निवारण ऐन अनुसार भ्रष्टाचारविरुद्व मुद्दा परे सार्वजनिक पद स्वतः निलम्बन हुने व्यवस्था छ। विपक्षी कांग्रेसले भने गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रह राखेर अख्तियारले मुद्वा दायर गरेको भन्दै संसद अवरोध गर्दै आएको छ।
संसद सचिवालयले जारी गरेको विज्ञप्ती

प्रतिक्रिया