भ्याटको १० प्रतिशत रकम बैंक खातामै फिर्ता हुने

भ्याटको १० प्रतिशत रकम बैंक खातामै फिर्ता हुने

काठमाडौँ –आन्तरिक राजस्व विभागले विद्युतीय माध्यमबाट भुक्तानी गर्दा उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम बैंक खातामा फिर्ता गर्ने व्यवस्था सुरुवात गरेको छ । विभागले मंगलबार काठमाडौंमा कार्यक्रम आयोजना गरी बायोमेट्रिक दर्ता र विद्युतीय माध्यमबाट भुक्तानी गर्ने प्रणालीको सुरुवात गरेको हो । कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले कर प्रणालीलाई सुधार गर्न प्रविधिको प्रयोग बढाउने र कर सहभागिता बढाउन भ्याटमा केही छुट दिने नीति लिएको बताए। खततिवडाले सरकारको कर नीति बढी राजश्व संकलन गर्ने भन्दा पनि करको दायरा बढाउने, पहुँच बढाउने तथा लगानी मैत्री र व्यवसाय मैत्री कर प्रणालीको विकास गर्नु रहेको बताए। करदतालाई कर बुझाउने क्रममा हुने समस्याको अन्त्य गरी भौगोलिक र प्राविधिक रुपमा पहुँच बढाउने गरी सरकारले कर नीति लागू गरेको बताए।
कार्यक्रममा राजश्व सचिव शिशिर कुमार ढुंगानाले करको दायरा बढाउन भ्याटमा ‘क्यास ब्याक’ प्रणालीलाई प्रभावकारी बनाउने बताए। ढुंगानाले सरकारले पारदर्शी कर प्रणालीको विकास होस, अनुमान योग्य कर प्रणालीको विकास होस, र कारोबारलाई सही ढंगबाट चित्रित गर्न सकियोस भन्ने उद्देश्यले भ्याटमा ‘क्यास ब्याक’को नीति अवलम्बन गरेको बताए। उनले कर प्रणालीको विकासले राजस्व चुहावट कम हुने र अनाधिकृत आर्थिक गतिविधिलाई नियन्त्रण गर्ने आधार तयार गरेको उल्लेख गरे।
आन्तरिक राजस्व विभागका महानिर्देशक बिनोदबहादुर कुँवरले मूल्य अभिवृद्धि कर (भ्याट)को वृद्धिदर ३१ प्रतिशत रहेको र ‘क्यास ब्याक’ गर्ने व्यवस्थाले यसको दायरा अझै बढ्ने बताए। क्यास ब्याक प्रणालीको दायरा बढाउन सबै बैंक तथा वित्तीय संस्था र व्यवसायीहरुसँग छलफल भइरहेको उनको भनाइ छ।
एक जना कर अधिकृत बराबर कम्तिमा एक जना व्यवसायी क्यास ब्याक प्रणालीमा आवद्ध गराउने योजना सहित कामलाई अगाडि बढाएको समेत कार्यक्रममा उनले दिए।
सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत विद्युतीय भुक्तानीमा १० प्रतिशत भ्याट फिर्ता दिन गरेको व्यवस्था सात महिनापछि कार्यान्वयनमा ल्याएको हो। भ्याट फिर्ता डेबिट र क्रेडिट कार्डबाट हुने भुक्तानीमा नहुने विभागले जनाएको छ। भ्याट फिर्ताका लागि विक्रेता, सेवा प्रदायक, विद्युतीय बिजक सम्बन्धी काम गर्ने कम्पनीहरु विभागको सफ्टवेरमा जोडिनुपर्ने हुन्छ।
उपभोक्ताले राष्ट्र बैंकबाट मान्यता प्राप्त वालेट र मोबाइल बैंकिङबाट हुने भुक्तानीमा भ्याट फिर्ता पाउने छन्। त्यस्तै भ्याट फिर्ताका लागि विक्रेताले विद्युतीय बिलको प्रयोग अनिवार्य गरेको हुनुपर्ने छ। त्यसपछि मात्र उपभोक्ताले आफुले तिरेको भ्याटको १० प्रतिशत रकम तत्काल आफ्नो खातामा फिर्ता पाउनेछन्।

प्रतिक्रिया