ठाकुर ज्ञवाली नयाँ आईजीपी

ठाकुर ज्ञवाली नयाँ आईजीपी

काठमाडौं : डीआईजी ठाकुर ज्ञवालीलाई सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा बढुवा गरेको छ। मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई २७ औं आईजीपी नियुक्त गरेको हो। कार्यसम्पादन मूल्यांकन र जेष्ठताका आधारमा ज्ञवालीलाई आईजीपी नियुक्त गरेको हो। उनीसँगै आईजीपीको दौडमा डीआईजी तारिणीप्रसाद लम्साल थिए। दुवै २०४७ असार २५ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका अधिकृत हुन्। आईजीपी ज्ञवालीले आगामी असार २४ गते सेवाहदका कारण अवकाश पाउनेछन्।

आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उनका ब्याचका डीआईजीहरुले सेवाहदका कारण मंगलबार अवकाश पाएका छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकले नयाँ आईजीपीमा नियुक्त गर्ने भनिए पनि निर्णय हुन सकेको थिएन्। डीएसपी हुँदा ६ वर्ष लागूऔषध, एक वर्ष रुकुम र एक वर्ष बुटवल बसेका ज्ञवाली २०६६ मा एसपीमा बढुवा भएका हुन्। एसपी भएपछि उनी दाङ, बारा र झापाको जिल्ला इन्चार्ज भएका थिए।

एसएसपी हुँदा प्रहरी महानिरीक्षकको सचिवालय, नेपालगञ्ज र सीआईबीमा काम गरेका उनी डीआईजी भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गरेका हुन्। पछिल्लो समय उनी प्रदेश १ प्रहरी प्रमुख भएर काम गर्दै थिए । आईजीपी खनालसँगै एआईजी पुष्कर कार्की, ठूले राई र धीरु बस्न्यात सेवाहदकै कारण अवकाश भएपछि डीआईजी ज्ञवाली एआईजी बनेका हुन् ।

मंगलबार नै खनालकै ब्याची केदार रिजाल, मनोज न्यौपाने, शेरबहादुर बस्नेत, पूर्णचन्द्र जोशी, कमल जिटी, दानसिंह बोहोरा, नारायणसिंह खड्का, हरिभक्त प्रजापति, पिताम्बर अधिकारी, दीपक थापा, विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, सुरज केशी, दिनेश अमात्य, महेन्द्र पोखरेल र सुरेशविक्रम शाह सेवाहदकै कारण अवकाश भएका छन् ।

प्रतिक्रिया