पश्‍चिमी न्यूनचापीय वायुको प्रभाव लम्बिने

पश्‍चिमी न्यूनचापीय वायुको प्रभाव लम्बिने

काठमाडौँ – दुई दिनदेखि नेपालमा स्थिर रहेको पश्चिमी न्यूनचापीय वायुको प्रभाव अझै केही दिन लम्बिने अनुमान गरिएको छ । मौसमविद् शान्ति कँडेलको भनाइमा नेपाल प्रवेश गरेको पश्चिमी न्यूनचापीय प्रणाली प्रकृति हेर्दा अझै एक/दुई दिन रहने सम्भावना छ । यसले मौसम पूर्णरुपमा सुधार आउन केही दिन लाग्ने देखिएको छ । तथापी नेपालमा नयाँ मौसमी प्रणालीका अलावा प्रिःमनसुनको मौसमको पूर्वअवस्था भएकाले आगामी दिनमा मौसमी गतिविधि फेरबदल भइरहेने मौसमविद् कँडेलको भनाइ छ। अबका दिनमा बिहानीपख मौसम सफा देखिए पनि अपराह्नपछि मौसम बदली हुने, मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहने बताइएको छ। प्रिःमनसुन अप्रिल र मे महिनालाई प्रिमनसुन मानिन्छ। उक्त अवधिमा मौसमी गतिविधि फेरबदल हुन्छ।

हनुका साथै पूर्वी पहाडी क्षेत्रमा हल्का वर्षा भइरहेको छ। काठमाडौँसहित मध्य भेगमा बदली रहे पनि छिटफुट मात्रै वर्षा हुने मौसमविद् कँडेलले बताइन्। पूर्वी भूभागका उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ। रातको समयमा पूर्वी पहाडी क्षेत्रमा बदली रहनेछ भने बाँकी भेगमा मौसम सफा रहने महाशाखाले जारी गरेको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिनमा उल्लेख छ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बितेका २४ घण्टामा देशैभर वर्षा भएको छ। सबैभन्दा धेरै डडेलधुरामा ५१ दशमलव नौ र दिपायलमा ४७ दशमलव आठ मिलिमिटर वर्षा भएको छ। काठमाडौँमा छ दशमलव चार मिलिमिटर वर्षा भएको छ। वीरेन्द्रनगरमा १२, दाङमा ११ मिलिमिटर वर्षा भएको छ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव आठ डिग्री र अधिकतम तापक्रम १७ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
फागुन १० गते (शनिबार)दिउँसोः देशको पुर्वी भू-भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंसिक बदली रहनेछ। पुर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा साथै पश्चिमी तथा मध्य पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। पुर्वी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ।राति : पहाडी भेगमा आंशिक बदली रही बाँकि भेगको मौसम सामान्यतया सफा रहनेछ |
फागुन ११ गते (आइतबार)दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी भू-भागका थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वी पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहन्छ।
राति : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहन्छ।
फागुन १२ गते (सोमबार)दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। मध्य तथा पुर्वी भू-भाग साथै पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहन्छ।
राति : देशको मध्य तथा पुर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागमा आंसिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहन्छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-
देशका पहाडी भू-भागका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको साथै पूर्वी उच्च पहाडी तथा हिमाली भू-भागका स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध छ |

प्रतिक्रिया