‘विश्वविद्यालयलाई कार्यकर्ता भर्तीकेन्द्र बनाउन खोजियो’

काठमाडौं : नेपाली कांग्रेसकी सांसद डा डिला संग्रौलाले विश्वविद्यालयलाई सरकारको कार्यकर्ता भर्तीकेन्द्र बनाउन खोजेको आरोप लगाएकी छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन् ।
‘दक्ष जनशक्ति उत्पादन गर्ने विश्वविद्यालयहरू महिनौंदेखि पदाधिकारी विहीन छन्’, उनले भनिन्, ‘विश्वविद्यालयलाई सरकारको कार्यकर्ता भर्तीकेन्द्र बनाउन खोजेको छ ।’
६ वटा विश्वविद्यालय भदौ ७ गतेदेखि नेतृत्वविहीन भएको बताउँदै उनले भनिन्, ‘विधिपूर्वक नेतृत्व छान्नुपर्ने विश्वविद्यालयमा पनि कलुसित राजनीतिको छाया छ । भागवण्डाका आधारमा नेतृत्व चयन नहोस् । तत्काल योग्य र सक्षम व्यक्ति नियुक्त गरियोस् ।’
प्रधानमन्त्री र शिक्षामन्त्रीको विश्वविद्यालयप्रतिको दृष्टिकोण ज्यादै अपरिपक्क र अव्यवहारिक भएको आक्षप उनले लगाइन् । ‘स्टेफन हकिङले भन्नु भएको छ, ‘ज्ञानको सबैभन्दा ठूलो दुश्मन अज्ञानता होइन । ज्ञानको भ्रम हो ।’ यो भनाइमा जस्तै बहुत ज्ञानी छु भन्ने नेकपा सरकारले बोकेको छ ।’, उनले भने, ‘कुलपति समेत रहनु भएका प्रधानमन्त्री र द्वन्द्वका बेला बुर्जुवा शिक्षा नपढ्न उर्दी जारी गर्नु हुने शिक्षामन्त्रीको विश्वविद्यालयप्रतिको दृष्टिकोण ज्यादै अपरिपक्क र अव्यवहारिक छ ।’
लाखौं विद्यार्थीको भविष्यमाथि खेल्ने अधिकार प्रधानमन्त्री वा अन्य कुनै मन्त्रीलाई नभएको उनले बताइन् । लाभको लोभले राष्ट्रका भविष्यको उज्यालो भविष्य खोस्ने चेष्ठा कसैबाट नहोस् भन्ने आग्रह पनि उनले गरिन्।
प्रतिक्रिया