पुस्तकको कारोबार व्यापार नै हाे, सरकारले कर उठाउने कुरा जायज छ

पुस्तकको कारोबार व्यापार नै हाे, सरकारले कर उठाउने कुरा जायज छ

काठमाडौँ – अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले पुस्तकको कारोबार व्यापार नै भएकाले यसमा सरकारले कर उठाउने कुरा जायज भएको बताएका छन् ।

सरकारका प्रवक्ता रहेका मन्त्री खतिवडाले बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा स्वदेशी प्रेस तथा छापाखानाको संरक्षणका लागि विदेशबाट आयातित पुस्तकमा कर लगाउने निर्णय गरिएको बताए। अरु देशहरुमा पुस्तकमा १८ प्रतिशतसम्म कर लगाउने गरिएको उदाहरण दिँदै मन्त्री खतिवडाले भने, ‘धेरै देशमा पुस्तकमा १८ प्रतिशतसम्म कर लगाउने गरेका छन्। हाम्रो देशमा अरबौँ रुपैयाँ लगानी गरेर प्रेस र छापाखाना स्थापना गरिएको छ। उनीहरुले मेसिन र कागज दुवैमा कर तिर्नुपर्छ। करै नतिरी ल्याउने पुस्तकसँग उनीहरुले कसरी प्रतिस्पर्धा गर्नेछन्?’
करै नलाग्ने भएपछि पुस्तकमा जथाभावी मूल्य राखेर पनि बिक्रीवितरण भएको खतिवडाले बताए। उनले भने, ‘पुस्तकको व्यापार व्यापार नै हो, ज्ञानको व्यापार हुँदैन ज्ञानको त आदानप्रदान हुन्छ। ज्ञानको व्यापार भनेर दिग्भ्रमित पार्ने काम नगरौँ।’

एउटा पुस्तकमा ३०–४० प्रतिशत नाफा खाने तर सरकारलाई १० प्रतिशत कर दिन नमान्ने प्रवृत्ति गलत भएको पनि खतिवडाले बताए। उनले भने, ‘नाफामा कर लगाइएको हो, ज्ञानमा कर लगाइएको होइन। व्यापार गरेर नाफा धेरै कमाएपछि कर उठाइन्छ। कर लगाएपछि पुस्तक नै बिकेनन् भनेर हल्ला गरिएको छ। कर छलेर ल्याएको पुस्तक समात्दा ज्ञान पक्रिइयो भन्ने गरिएको छ।’

सरकारले आयातित किताबमाथि १० प्रतिशत कर लगाउने निर्णय गरेपछि ज्ञानमाथि अंकुश लगाउने कदम भएको बताउँदै ‘मेक बुक्स ट्याक्सफ्री’ अभियान नै चलाइएको छ। पाटन दरबारस्क्वायरमा दैनिक रुपमा विभिन्न क्षेत्रका अगुवा गएर अभियानमा ऐक्यबद्धता जनाइरहेका छन्।

याे पनि पढ्नुहाेस्

प्रतिक्रिया