शिक्षण अस्पतालको विज्ञप्ति ‘प्रधानमन्त्रीको स्वास्थ्य राम्रो’


काठमाडौं : दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था राम्रो भएको अस्पतालले जनाएको छ। मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले ओलीको स्वास्थ्य राम्रो भएको बताएको हो। ओली अहिले अस्पतालमा विशेषज्ञको निरन्तर निगरानीमा छन्।
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेम कृष्ण खड्गाले विज्ञप्ति सार्वजनिक गर्दै प्रधानमन्त्रीको स्वास्थ्य राम्रो भएको जानकारी गराएका हुन्। ‘हालसम्म उहाँको स्वास्थ्य स्थिति राम्रो अवस्थामा छ’, खड्गाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उहाँ विशेषज्ञहरुको निरन्तर निगरानीमा हुनुहुन्छ।’
प्रधानमन्त्रीलाई मिर्गौला प्रत्यारोपण अगाडि दिइने आवश्यक औषधि दिन सुरु गरिएको विज्ञप्तिमार्फत् जानकारी गराइएको छ। ‘आज सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू मिर्गौला प्रत्यारोपण तयारीका लागि यस अस्पतालमा भर्ना हुनुभएको दोस्रो दिन। उहाँलाई प्रत्यारोपणका लागि आवश्यक औषधिहरु दिन सुरु गरिएको छ’, प्रा.डा. खड्गाले हस्ताक्षर गरेको विज्ञप्तिमा लेखिएको छ, ‘साथै, विभिन्न विषयका विशेषज्ञहरुबाट उहाँको स्वास्थ्य परीक्षण गरिएको छ। प्रत्यारोपण अगाडि गरिने नियमित डायलासिस तथा ल्याव परीक्षणहरु गरिने क्रम जारी छ।’
पहिलो पटक ओलीको मिर्गौला प्रत्यारोपण २०६४ साउनमा भारतको अपोलो अस्पतालमा गरिएको थियो। त्यस बेला बुहारी नाताकी अञ्जना घिमिरेले मिर्गौला दिएकी थिइन्। पहिलोभन्दा दोस्रो पटकको प्रत्यारोपण अलिक जटिल हुने चिकित्सक बताउँछन्।
ओलीलाई दोस्रो पटक मिर्गौला दिन उनकी भाञ्जी नाताकी समीक्षा संग्रौला तयार छन्। चिकित्सकका अनुसार उनको स्वास्थ्य जाँच गरी तयारी अवस्थामा राखिएको छ। वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा.डा.दिव्यासिंह शाहले प्रत्यारोपणको संयोजन गरिरहेकी छन्। प्रधानमन्त्रीकी निजी चिकित्सकसमेत रहेकी डा. शाह स्वदेशी एवं विदेशी चिकित्सकसँग परामर्शमा छिन्।

प्रतिक्रिया