छुवाछूत आरोपमा गृहका अधिकृतविरुद्ध उजुरी

छुवाछूत आरोपमा गृहका अधिकृतविरुद्ध उजुरी

काठमाडौँ – दलित भएकै कारण आफूमाथि भेदभाव तथा दुर्व्यवहार गरिएको आरोपमा राजधानीमा अध्ययनरत एक युवतीले गृह मन्त्रालयअन्तर्गतका अधिकृतविरुद्ध उजुरी दर्ता गराएकी छन् । त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनरत दीपा नेपालीले बिहीबार महानगरीय प्रहरी वृत्त बालाजुमा उजुरी दर्ता गराएकी हुन्। प्रहरीले छुवाछूतविरुद्ध सहज रूपमा उजुरी लिन अस्वीकार गरेकाले भनसुन गर्नुपरेको उनले बताइन्।
उनी तीन भाइबहिनीसहित श्रीकृष्ण बिडारीको घरमा बस्दै आएकी थिइन्। दलित भएको थाहा पाएपछि घरबेटीले आफूहरूलाई डेरा छाड्न निरन्तर दबाब दिएको र दुर्व्यवहारसमेत गरेको दीपाको गुनासो छ।
तारकेश्वर नगरपालिका–१० नेपालटारस्थित बिडारीको घरमा गत मंसिर १३ गतेदेखि भाडामा बस्दै आएकी घोडाघोडी नगरपालिका–४ की २८ वर्षीया दीपाले प्रहरीमा उजुरी दिएकी हुन्। बिडारी गृह मन्त्रालयअन्तर्गतको सीमा प्रशासन कार्यालय दोलखा लामाबगरमा कार्यरत शाखा अधिकृत हुन्। गृह मन्त्रालयका कर्मचारी भएकै कारण बिडारीविरुद्ध उजुरी लिन प्रहरीले आनाकानी गरेको दीपाले गुनासो गरिन्। ‘३ दिनदेखि जाहेरी लिएर प्रहरी कार्यालय आयौं।
डीएसपी सा’पले अलि बुझेरमात्रै जाहेरी दर्ता गर्नुपर्छ भनेर आलटाल गर्दै उजुरी त दर्ता गराउनुभयो, निष्पक्ष छानबिन गरेर पीडकमाथि कारबाही हुन्छ भन्नेमा अझै आशंका छ।’ जातीय भेदभाव कसुरमा बिडारी, उनकी श्रीमती राधिका, सोही घरमा डेरा गरी बस्ने जनक ढुंगाना र उनकी श्रीमती सन्तोषीविरुद्ध उजुरी दर्ता गरिएको हो। महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी रञ्जितसिंह राठौरले घटनाबारे छानबिन गरी कारबाही थाल्ने बताए।
बिडारीले जातका आधारमा आफूले विद्यार्थीहरूलाई कोठा छाड्न दबाब नदिएको दाबी गरे। ‘पदीय हिसाबले पनि मैले जातभातका आधारमा पक्षपात गर्न मिल्दैन,’ उनले भने, ‘पानीको विवादलाई लिएर जातीय पक्षपातको आरोप लगाइयो।’
घरमा पानी सुकेपछि ट्यांकरको पानी हालेको र त्यसको शुल्क कोठामा बस्नेले दामासाहीले तिर्नुपर्छ भन्दा (फागुन ४ गतेबाट) विवाद सुरु भएको दाबी उनको छ। ‘म दोलखा नै थिएँ, श्रीमतीले ट्यांकरको पानी ल्याइछन्, त्यसको पैसा लाग्छ भन्दा दलितहरूलाई हेप्नी भनेर विभिन्न निकायमा उजुरी गर्न हिँडेछन्,’ उनले भने।
एकै घरमा बस्नेबीच झगडा हुन थालेपछि आफू घर खाली गर्ने निर्णयमा पुगेको उनले सुनाए। पीडित दलित विद्यार्थीले भने घरबाटै निकाल्ने उद्देश्यले पानी बन्द गराएर दुःख दिने नियत राखिएको दाबी गरे। बिडारीले ३५ दिनभित्र घर खाली गर्न सूचना नै टाँस गरेका छन्।

प्रतिक्रिया