रमेश खरेलको नेतृत्वमा ‘हाम्रो नेपाल सुशासन अभियान’

रमेश खरेलको नेतृत्वमा ‘हाम्रो नेपाल सुशासन अभियान’

काठमाडौं : नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले ‘हाम्रो नेपाल सुशासन अभियान’ सुरु गरेका छन्। बिहीबार औपचारिक रुपमै खरेलले अभियानको सुरुवात गरेका हुन्। राजधानीमा अयोजित उद्घाटन समारोहमा बोल्दै खरेलले देशमा भ्रष्टाचार, विकृति र विसंगति बढेको भन्दै बाध्य भएर अभियान सञ्चालन गर्नु परेको बताएका छन्।  अभियानले भ्रष्टाचारमुक्त राष्ट्र निर्माणसहित विभिन्न ८ वटा लक्ष्य निर्धारण गरेको छ। कार्यक्रममा लक्ष्य प्राप्तिका लागि विभिन्न आधा दर्जन कार्यक्रम सार्वजनिक भएका छन्। यसअघि राजनीतिक दल घोषणाको तयारी भएको बताइए पनि खरेलको नेतृत्वको अभियानले राजनीतिक मुद्दा समावेश गरेको छैन। 

साझा पार्टीले अघि सारे जस्तै यो अभियानले समेत विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार दिनुपर्ने माग गरेको छ। यसका लागि कानुन निर्माण गर्नुपर्ने माग अभियानले अघि सारेको हो।खरेल नेतृत्वको अभियान सञ्चालन केन्द्रीय तदर्थ कार्यकारी परिषद्मा पाँच सदस्य रहेका छन्। परिषदमा खरेलसँगै देवेन्द्रप्रसाद सिटौला, डा. नारायण घिमिरे, राजकुमार यादव र रोशन श्रेष्ठ छन्।  अभियान सुरुवात गरिएको कार्यक्रममा मास्क वितरण भएको थियो। कार्यक्रममा कार्यकारी परिषद्का सदस्यले सम्बोधन गरेका थिए। खरेलले अब भ्रष्टाचारविरुद्ध ७७ जिल्लाका तीन करोड जनता सडकमा उत्रिनुपर्ने बताए। 

प्रतिक्रिया