प्रधानमन्‍त्री डिस्चार्ज आजै साँझ हुँदै

प्रधानमन्‍त्री डिस्चार्ज आजै साँझ हुँदै

काठमाडौं : त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गरिने भएको छ। ओलीलाई स्वास्थ्य लाभपछि डिस्चार्ज गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले जानकारी दिए।

यही फागुन १९ गते अस्पताल भर्ना भएका प्रधानमन्त्रीको २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो ।अस्पताल बसाइको १२ दिनपछि प्रधानमन्त्री डिस्चार्ज हुन लागेका हुन्। उनलाई भन्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन् । समीक्षा फागुन २७ गते डिस्चार्ज भइसकेकी छन् ।

यसअघि प्रधानमन्त्रीले भारतको अपोलो अस्पतालमा २०६४ सालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराएका थिए। बीचमा स्वास्थ्यमा समस्या देखिएपछि गत भदौंमा स्वास्थ्य उपचारका लागि ओली सिंगापुर पुगेका थिए। उनको त्यहाँ ‘प्लाज्माफेरेसिस’ गरिएको थियो। सिंगापुरको १५ दिन बसाइपछि स्वेदश फर्केका ओली पछिल्लो समय नियमित डायलासिस गराउँदै आएका थिए।

कसरी भयो स्वदेशमै प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण ? 

प्रधाानमन्त्रीकी निजी चिकित्सक प्रा. डा. दिव्यासिंह शाह र प्रा.डा. उत्तम शर्मा, जसले स्वदेशमै प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको नेतृत्व गरे। शाह प्रधानमन्त्रीका निजी चिकित्सकका साथै अस्पतालको नेफ्रोलोजी विभाग प्रमुख हुन्। शर्मा युरोलोजी विभागका प्रमुख हुन्। 

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ शाहले प्रत्यारोपण चिकित्सा टोलीको नेतृत्व गरेकी थिइन् भने शर्माले शल्यचिकित्सा टोलीको। उनीहरूले मुलुकको कार्यकारी प्रमुखको मिर्गौला स्वदेशमै प्रत्यारोपण गर्ने जोखिम मोलेका हुन् । 

१३ वर्षअघि प्रत्यारोपण गरेको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि ओलीको दोस्रो पटक प्रत्यारोपण गर्नुपर्ने चुनौती थियो। डायलासिस सुरु भएपछि प्रत्यारोपण कहाँ गर्ने भन्ने प्रश्न उठेको थियो। 

सातामा एकपटक डायलासिस गर्दा शाहले प्रत्यारोपणका लागि गृहकार्य सुरु गरेकी थिइन्। उनका अनुसार विभिन्न देशमा रहेका राजदूतले प्रत्यारोपण गर्न समन्वय गर्छौं भनेका थिए। सबैबाट सहयोगको आश्वासन पाए पनि प्रधानमन्त्रीले स्वदेशमै प्रत्यारोपण गर्न चाहनुको मुख्य कारण राष्ट्रवादी सोच रहेको मिर्गौला प्रत्यारोपण सर्जन डा. उत्तमकुमार शर्माको ठम्याइ छ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ६ सयभन्दा बढीको प्रत्यारोपण सफल भएको जानकारी दिएकी शाहले थिइन्। उनले शल्यचिकित्सा टोलीको नेतृत्व शर्माले गर्ने भनेकी थिइन्। त्यसपछि ओलीले शर्माको खोजीनीति गरेका थिए। आफूलाई पढाएका गुरुका छोरा रहेको थाहा पाएर ओली आश्वस्त भएका थिए।

ओलीको दोस्रो पटक मिर्गौला पत्यारोपण स्वदेशमै हुँदै गर्दा पहिलो पटकको प्रत्यारोपणमा सहभागी डा. अनन्तकुमार पनि भारतबाट आउने निश्चितप्रायः थियो। नेपाली चिकित्सकको मनोबल उच्च हुने र जनमानसमा सकारात्मक सन्देश प्रवाह हुने भएकाले स्वदेशकै सरकारी अस्पताल रोजाइमा परेको हुन सक्ने एक चिकित्सकले बताए। 

स्वदेशमै प्रत्यारोपण गरेकामा नेपाल चिकित्सक संघले सम्मान व्यक्त गरेको छ।  

प्रधाानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्न झन्डैं पाँच घण्टा लागेको थियो। यस्तै शिरा र धमनी जोड्न ३९ मिनेट लागेको थियो।

यी हुन् शल्यक्रियामा सहभागी चिकित्सक 

प्रधानमन्त्रीको शल्यक्रियामा भारतका वरिष्ठ प्रत्यारोपण शल्य चिकित्सक तथा पहिलो मिर्गौला प्रत्यारोपणमा सहभागी प्रा.डा. अनन्त कुमार, शिक्षणका विभागीय प्रमुख प्रा.डा. उत्तमकुमार शर्मा, प्रा.डा. प्रेमराज ज्ञवाली डा. पवन चालिसे, डा.भोजराज लुइटेल, डा.सुमन चापागाईं, डा. सुजित पौडेल र डा. मनिषमान प्रधानको संलग्नता रहेको थियो । 

प्रत्यारोपण चिकित्सातर्फ विभागीय प्रमुख स्वयम् दिव्या सिह शाहको नेतृत्वमा डा. महेशराज सिग्देल, डा. मुकुन्द काफ्ले, डा. मिधन श्रेष्ठ, डा. रविन नेपाली र डा. सन्तोष क्षेत्री संलग्न थिए। 

एनेस्थेसियातर्फ विभागीय प्रमुख डा. अनिल श्रेष्ठको नेतृत्वमा प्रा.डा. सुवासप्रसाद आचार्य, डा. विगेनमान शाक्य र डा. अमित शर्मा भट्टराईको टोली संलग्न थियो ।
त्यसैगरी क्रिटिकल केयरतर्फ प्रा.डा. सुवासप्रसाद आचार्यको नेतृत्वमा डा. प्रमेश सुन्दर श्रेष्ठ, डा. हेमराज पनेरु र डा. सौरभ प्रधानको टोली संलग्न थियो । 

प्रतिक्रिया