प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

सुर्खेत : जिल्लाको भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलसहित दुई जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। नगरपालिकाका अधिकृत पौडेल र खानेपानी तथा सरसफाई टेक्निसियन चित्रबहादुर केसीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो। बुधबार विशेष अदालत काठमाडौंमा दायर भएको मुद्दामा दुई लाख रुपैयाँ बिगो माग दाबी गरिएको छ।

सो नगरपालिका-११ को तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न पश्चात भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग लिएको दुई लाख घुससहित अख्तियारको टोलीले टेक्निसियन केसीलाई नियन्त्रणमा लिएको थियो। अनुसन्धानको सिलसिलामा प्रमुख प्रशासकीय अधिकृत पौडेलको आदेश योजना र निर्देशनमा केसीले उक्त घुस लिएको खुलेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया