गुप्तचरले फोन ट्यापिङ गर्न पाउने

गुप्तचरले फोन ट्यापिङ गर्न पाउने

काठमाडौं : कसैलाई थाहै नदिई फोन ट्यापिङ (इन्टरसेप्सन) गर्ने प्रावधानसहितको विधेयक संसदीय समितिबाट पास भएको छ।  राष्ट्रियसभाको विद्यायन व्यवस्थापन समितिबाट बिहीबार ‘नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक’ सर्वसम्वत पास भएको हो।   

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयद्वारा प्रस्तावित यो विधेयक संसदमा दर्ता भएसँगै विवादित बनेको थियो। विशेषतः दफा-१०को प्रावधानलाई लिएर प्रतिपक्ष दल, संचारकर्मी र अन्य सरोकारवाला निकायमा कार्यरत व्यक्तिले यो प्रावधानप्रति आपत्ति जनाएका थिए। तर, समितिले विवादित प्रावधानका केही शब्द मात्र संशोधन गरेर विधेयक पास गरेको छ।

सरकारद्वार प्रस्तावित दफा-१० को प्रावधानमा गुप्तचर निकायले चाहेको व्यक्तिको फोन ट्यापिङ गर्न सक्ने व्यवस्था थियो।

‘यो ऐनबमोजिम सूचना संकलन तथा प्रतिगुप्तचरी क्रियाकलापका सिलसिलामा विभागले संदिग्ध वा निगरानीमा रहेका व्यक्ति, संघसंस्थाबाट सार्वजनिक सञ्चारमाध्यमबाट वा अन्य माध्यमबाट भएका कुराकानी, श्रव्य, दृश्य वा विद्युतीय संकेत वा विवरणलाई निगरानी, अनुगमन र इन्टरसेप्सन गर्न तथा अभिलेख गर्न सक्नेछ’, प्रस्तावित विधेयकमा भनिएको थियो। 

प्रस्तावित यो प्रावधानलाई संशोधन गर्दै समितिले दफा-१० (१) मा केही शब्द थपघट गरेको छ। समितिले तयार पारेको विधेयक प्रतिवेदनको यो दफामा भनिएको छ, यस ऐन बमोजिम नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनताको रक्षा गर्न वा राष्ट्रिय सुरक्षाको निमित्त त्यस सम्बन्धी सूचना संकलन तथा प्रतिगुप्तचरी त्रियाकलापका सिलसिलामा अन्य माध्यमबाट सूचना संकलन गर्न सम्भव नभएमा मुख्य अनुसन्धान निर्देशकले कुनै संदिग्ध व्यक्ति, संघ, संस्थाबाट सार्वजनिक संचार माध्यम वा अन्य माध्यमबाट भएका कुराकानी, श्रव्य, दृश्य वा विद्युतीय संकेत वा विवरणलाई निगरानी, अनुगमन र इन्टरसेप्सन गर्न तथा अभिलेख गर्न सक्नेछ।’  

प्रतिक्रिया