७२ घण्टामै तयार भयो ७० शय्याको कोरोना उपचार अस्थायी अस्पताल (फोटोहरु)

७२ घण्टामै तयार भयो ७० शय्याको कोरोना उपचार अस्थायी अस्पताल (फोटोहरु)

चितवन – निर्माण घोषणाको ७२ घन्टाभित्रै भरतपुरमा कोरोना उपचार उपचार केन्द्र तयार भएको छ । शुक्रबार वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले ७० शय्याको यो अस्थायी अस्पतालले सेवा आरम्भ गरेको घोषणा गरे । 

भरतपुरमा रहेको चितवन प्रर्दशनी केन्द्र (एक्स्पो सेन्टर)मा कोरोना (कोभिड–१९) विशेष अस्थायी अस्पताल निर्माण गरिएको हो। कोरोना भाइरसको संक्रमण आशंका भएका वा परीक्षणपछि संक्रमित पुष्टि भएका व्यक्तिहरुलाई राखेर उपचार दिनका लागि मंगलबारमात्र यस्तो अस्पताल बनाउने निर्णय भएको थियो।
यो अस्थायी अस्पतालमा १० आईसीयू, १० एचडीयं र ५० जनरल गरी ७० शय्या छन्। आईसीयू र एचडीयुको काम बाँकी नै भए पनि ५० बेडको जनरल वार्ड भने सेवाका लागि तयार भएको छ। कोही आएमा उपचार सेवा दिन सक्ने चिकित्सक डा. भोजराज अधिकारीले बताए। दुई दिनमा आईसीयू र एचडीयूको काम पनि सकिने उनले बताए। भरतपुर महानगरपालिकाको नेतृत्वमा मंगलबार एक्स्पो सेन्टरमा बसेको जिल्लाका सरोकारवालाहरुको बैठकले अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो। जिल्लाको सरकारी अस्पताल, मेडिकल कलेजहरु, क्यान्सर अस्पतालबाट औजार, उपकरण र शय्याहरु जुटाएर अस्पताल तयार गरेको अस्पताल व्यवस्थापन समितिका संयोजकसमेत रहेका डा. अधिकारीले बताए।

संभावित जोखिमलाई ख्याल गरेर एक्स्पो सेन्टरमा कोरोना उपचार केन्द्र सञ्चालन गर्नु उपयुक्त देखिएको भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले बताइन्। एक्स्पो सेन्टरमा तीन सय बेडसम्मको अस्थायी अस्पताल सञ्चालन गर्न मिल्ने भौतिक पूर्वाधारहरु छन्।

प्रतिक्रिया