नगरले पाएन ज्वरो नाप्ने ‘थर्मल गन’

नगरले पाएन ज्वरो नाप्ने ‘थर्मल गन’

गुराँस गाउँपालिकाले गुराँसेमा राखेको हेल्थ डेक्समा थर्मल–गनबाट जाँच गर्दै स्वास्थ्यकर्मी ।

दैलेख – कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम विरुद्ध तीनै तहका सरकार क्रियाशिल छन् । तर, दैलेखको सबै भन्दा पुरानो नारायण नगरपालिकाले हालसम्म पनि नगर भित्रिने नाकाहरुमा हेल्थ डेक्स समेत सञ्चालनमा ल्याउन सकेको छैन् । ज्वरो नाप्ने ‘थर्मल गन’ नपाउँदा स्वास्थ्य चेकजाँचका लागि हेल्थ डेक्स सञ्चालनमा ल्याउन नसकेको हो । थर्मल–गन नपाएको कारण हेल्थ डेक्स समेत राख्न नसकेको नारायण नगरपालिकाका नगर प्रमुख रत्नबहादुर खड्काले बताए । ‘हामी काठमाण्डौं जान पाएनौं, त्यहाँ अरु साथीहरुलाई खोज्न लगाएको पाउन सकिएन’ उनले भने ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम सम्बन्धी सोमवार नगरपालिका कार्यालयमा आयोजित बैठकमा नगरप्रमुख खड्काले भने ‘३५ सयमा पाइने थर्मल–गन व्यापारीले १२ हजार भनेका अनि बिल दिनुस् भन्दा सकिएछ’ भनेर दिएनन् ।
छिमेकका स्थानीय तहहरुले आफ्नो भू–भागमा प्रवेश गर्ने जो कोहीको स्वास्थ्यकर्मीले ज्वरो नाप्न प्रयोग गरेको थर्मल–गन सामाजिक सञ्जालमा देखेपछि नारायण नगरपालिकाले थर्मल–गन काठमाण्डौंमा भएकाहरु मार्फत खोजेको थियो ।
नगरप्रमुख खड्काले प्रष्ट्याए ‘हामीलाई बिल चाहिन्छ भनेपछि व्यापारीले सकिएछ भनेर सामान दिएनन् ।’ करिव ३ फीट टाढैबाट हरेक व्यक्तिको ५ सेकेण्डमा ज्वरो अंकमा देखिने भएकोले हेल्थ डेक्समा बस्ने स्वास्थ्यकर्मीले थर्मल–गन रुचाउने गरेका छन् ।
थर्मल–गनको अभावमा चेकपोष्ट राख्न नसकेपनि जिल्लावासी कोही संक्रमित भई आएमा सदरमुकाम रहेको नाताले दक्ष स्वास्थ्यकर्मी, साधन श्रोतको भरोसा मानेर बिरामी आउन सक्ने अनुमान गरिएको छ । सोही अनुसारमा दैलेख जिल्ला अस्पताल, नारायण क्याम्पस लगायतका केही स्थानमा नेपाली सेनाको इन्द्रदल गुल्म, सशस्त्र र नेपाल प्रहरीको सहकार्यमा क्वारेनटाइन आइसुलेसन वार्ड निर्माण कार्य युद्धस्तरमा गरिरहेको छ । यसको सम्पूर्ण खर्च नारायण नगरपालिकाले खर्च व्यहोर्ने तयारी वैबकले निर्णय गरेको छ ।

प्रतिक्रिया