अपरान्ह मन्‍त्रिपरिषद्‌को बैठक : राहतको विशेष प्याकेजको तयारी, लकडाउन लम्बिनसक्‍ने

अपरान्ह मन्‍त्रिपरिषद्‌को बैठक : राहतको विशेष प्याकेजको तयारी, लकडाउन लम्बिनसक्‍ने

काठमाडौं : आइतबार अपरान्ह मन्त्रिपरिषद् बैठक बस्ने तयारी भएको छ। आइतबार अपरान्ह  प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने तयारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

यसअघि कोभिड-१९  संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक आइतबार दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । त्यो बैठकले राहतको प्याकेजसहित एउटा कार्ययोजना तयार पार्ने र त्यसलाई मन्त्रिपरिषद बैठकबाट पारित गरेर घोषणा गर्ने तयारी भएको स्रोतले जानकारी दिएको छ। 

विश्वभर फैलिएको नोबेल कोरोना भाइरस कोभिड-१९ को संक्रमणपछि सरकारले गत मंगलबारबाट एकसाताका लागि देशभर लकडाउनको घोषणा गरेको थियो। संक्रमण बढ्दो भएकोले लकडाउनको अवधि थपिनसक्ने संभावना छ। एकैपटक दुई हप्ता थप्ने कि पहिलो चरणमा एक हप्ता थपेर पछि लम्बाउने भन्नेबारेमा छलफल भइरहेको छ। 

 बैठकबाट कोरोना महामारीविरुद्ध लड्न सरकारबाट महत्वपूर्ण निर्णय आउने अनुमान गरिएको छ। सरकारले घोषणा गरेको लकडाउनको अवधि सोमबार सकिँदै छ। कोभिड-१९ का नयाँ संक्रमित फेला परिरहेकाले  उच्चस्तरीय समन्वय समितिले निर्णय गरी क्याविनेट बैठकबाट पारित गरी लकडाउनको अवधि थप्ने सम्भावना देखिन्छ। 

प्रतिक्रिया