कोरोनाविरुद्ध ऐक्यबद्ध हुन पूर्वप्रधानमन्त्रीहरुलाई देउवाको अपिल

कोरोनाविरुद्ध ऐक्यबद्ध हुन पूर्वप्रधानमन्त्रीहरुलाई देउवाको अपिल

काठमाडौँ – प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणविरुद्ध जुध्न एक भएर अगाडि बढ्न पूर्वप्रधानमन्त्रीहरुलाई आग्रह गरेका छन् । देउवाले आइतबार ५ पूर्वप्रधानमन्त्री र एक मन्त्रिपरिषद्‌का अध्यक्षलाई टेलिफोन गरी संकटको एकताबद्ध भएर सामना गर्ने प्रस्ताव गरेका हुन्।

देउवाले पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, झलनाथ खनाल, बाबुराम भट्टराई, माधवकुमार नेपाल र लोकेन्द्रबहादुर चन्द तथा तत्कालीन् मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसँग टेलिफोन संवाद गर्दै नेपाल र नेपालीलाई जोगाउन एक्यबद्ध भएर गम्भीर ढंगले कार्य गर्न अपिल गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। ‘विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणविरुद्ध जुध्न सभापतिज्यूले पूर्वप्रधानमन्त्रीहरुलाई एकताबद्ध भएर अगाडी बढ्न टेलिफोनमार्फत् अपिल गर्नुभएको छ,’ प्रवक्ता शर्माले भने।

सभापति देउवाले ट्वीट गर्दै कोरोनाको महामारीविरुद्ध एक भएर अगाडी बढ्ने अपिल गरेको उल्लेख गरेका छन्। ‘पूर्वप्रधानमन्त्री मित्रहरु लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई तथा खिलराज रेग्मीसँग आज टेलिफोनमा संवाद गरेँ,’ देउवाले ट्वीटमा भनेका छन्, ‘आजको संकटबाट नेपाल र नेपालीलाई जोगाउन एक्यबद्ध भएर गम्भीर ढंगले कार्य गरौं, अपिल गरेको छु।’

प्रतिक्रिया