सुदूरपश्चिम प्रदेशको कैलालीमा कोरोनाको संक्रमण देखिएपछि कर्णालीमा पनि त्रास,नाका बन्द

सुदूरपश्चिम प्रदेशको कैलालीमा कोरोनाको संक्रमण देखिएपछि कर्णालीमा पनि त्रास,नाका बन्द

सुर्खेत/दैलेख : सुदूरपश्चिम प्रदेशसँग जोडिएका कर्णालीका नाका बन्द भएका छन्। छिमेकी सुदूरपश्चिम प्रदेशको कैलालीमा कोरोनाको संक्रमण देखिएपछि कर्णालीमा पनि त्रास बढेको छ। 

त्रासकै कारण सुदूरपश्चिमसँग जोडिएका कर्णालीका नाका आइतबारबाट बन्द गरिएका हुन्। छिमेकी प्रदेशसँग नाका जोडिएका स्थानीय तहले सुदूरपश्चिम आउजाउमा रोक लगाएका छन्।

सुदूरपश्चिमसँग जोडिएका कर्णालीका सुर्खेत, दैलेख र कालिकोटका सिमा नाका बन्द भएका छन्। सुदूरपश्चिममा संक्रमण देखिएको र कर्णालीमा पनि भित्रिने सम्भावना बढेको भन्दै नाका नै बन्द गरिएको स्थानीय तहले जनाएका छन्। 

सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने कर्णाली नदीमा रहेका पक्की पुल, झोलुङ्गे पुल र तुइन बन्द गरिएका हुन्। यस्तै नदीमा डुंगा संचालनमा पनि प्रतिबन्ध लगाइएको छ। मानिसको आवतजावत रोक्न नाकामा सुरक्षाकर्मी पनि खटाइएको छ।

सुदूरपश्चिमका कैलाली र अछामसँग सिमाना जोडिएका सुर्खेतका स्थानीय तहले नाका बन्द गरेका छन्। कैलालीसँग जोडिएको सुर्खेतको चौकुने गाउँपालिकाले सबै नाका बन्द गरेको छ। 

गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले सुदूरपश्चिम जोड्ने सबै पुल बन्द गरिएको बताए। उनले भने,‘चौकुने र कैलाली जोड्ने नौ वटै झोलुङ्गे पुलमा ताला लगाएका छौं, मानिसको आउजाउ रोक्न नाकामा प्रहरी पनि खटाएका छौं।’ उनले डुंगाबाट पनि मानिसको आउजाउ हुने खतरा रहेकाले डुंगा पनि बन्द गराइएको बताए।

  जिल्लाको पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापाले सुदूरपश्चिका कैलाली र अछामसँग जोडिएका नाका बन्द गरिएको जानकारी दिए। ‘कैलालीमा संक्रमण देखियो, नाका जोडिएकाले हाम्रोमा पनि भित्रिने खतरा बढ्यो। यसको रोकथामका लागि कैलाली र अछाम जोड्ने पुलमा आउजाउ गर्न रोकेका छौं, अब डुंगाबाट पनि मानिस आवतजावत गर्न पाउने छैनन्।’

यस्तै सुदूरपश्चिमसँगै जोडिएका दैलेखका पक्की पुल र झोलुङ्गे पुल पनि बन्द गरिएका छन्। जिल्लाका दुल्लु, चामुण्डाविन्द्रासैनी र आठबीस नगरपालिका तथा ठाँठीकाँध गाउँपालिकाका सिमाना अछामसँग जोडिएका छन्। 

अछामसँग जोडिएका जिल्लाका १० वटै नाका बन्द गरिएका हुन्। अछाम र दैलेखलाई जोड्ने कर्णाली नदीमा एउटा पक्की पुल र नौ वटा झोलुङ्गे पुल छन्। 

कोरोनाको संक्रमण रोक्न ति नाकाहरु बन्द गरिएको सम्बन्धित स्थानीय तहले जनाएका छन्। ‘सुदूरपश्चिमबाट कोरोना भित्रिन नदिन पुल बन्द गराएका छौं’ चामुण्डाविन्द्रासैनी नगरपालिकाका मेयर सूर्यबहादुर शाहीले भने,‘मान्छेको आउजाउ रोक्न सकेमात्र संक्रमणबाट बच्न सकिने देखियो, यहीकारण नाकामा रहेका पुल बन्द गरेका हौं। नाकामा सुरक्षाकर्मी पनि परिचालन भएका छन्, अब डुंगाबाट पनि आवतजावत गर्न दिने छैनौं।’ उनले मानिसको आउजाउ रोक्न आफूहरु निर्मम भएर जुटेको बताए।

यस्तै सुदूरपश्चिमको अछाम र बाजुरासँग जोडिएको कालिकोटमा पनि उच्च सतर्कता अपनाइएको छ। कालिकोटको नरहरीनाथ गाउँपालिका अछामसँग जोडिएको छ भने पलाता र पचालझरना गाउँपालिका बाजुरासँग सिमा जोडिएका छन्। 
‘अछामसँग जोडिएका चार वटा नाका बन्द गरेका छौं’ नरहरीनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले भने,‘जिल्लाका अन्य नाका पनि बन्द भएका छन्, मान्छेहरुको आउजाउ रोक्न नाकामा युवा पनि परिचालन गरेका छौं।’ कोरोनाको संक्रमण फैलिन नदिन कर्णालीमा स्थानीय तहले पालिका तहमा पनि नाका बन्द गरेका छन्। 

प्रतिक्रिया