भारतमा एकैदिन एक हजारभन्दा बढीमा कोरोना संक्रमण, ४० को मृत्यु

भारतमा एकैदिन एक हजारभन्दा बढीमा कोरोना संक्रमण, ४० को मृत्यु

नयाँदिल्ली – भारतमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या करीब साढे सात हजार पुगेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याणको पछिल्लो तथ्यांकअनुसार भारतमा कोरोना भाइरसबाट हालसम्म ७४४७ जना संक्रमित भएका छन् । जसमध्ये २३९ को मृत्यु भएको छ भने ६४२ जना उपचारपछि निको भइसकेको छन्। पछिल्लो चौबीस घन्टामा मात्रै एक हजार जना संंक्रमण पाइएको छ भने चालीसको मृत्यु भएको छ।

सबैभन्दा धेरै संक्रमण महाराष्ट्रमा देखिएको छ। महाराष्ट्रमा १६६६ जनामा संक्रमण पुष्टि भएको छ भने ११० जनाले ज्यान गुमाइसकेका छन्। पछिल्ले चौबीस घन्टामा मात्रै महाराष्ट्रमा कोरोना संक्रमणका ९२ वटा नयाँ केस देखिएको छ। महाराष्ट्र छि बढी संक्रमित हुनेमा पर्छ राजधानी दिल्ली। दिल्लीमा शनिबार अपरान्हसम्ममा ९ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये १३ जनाको मृत्यु भइसकेको छ। दिल्लीमा शुक्रबार मात्रै १८३ वटा नयाँ केस पहिचान भएको थियो। अहिलेसम्म एक दिनमै संक्रमित संख्यामा भएको यो सबैभन्दा उच्च वृद्धि हो। तेस्रो उच्च संक्रमण भएको राज्य हो तमिलनाडु। तमिलनाडुमा हालसम्म ९११ जनामा संक्रमण देखिएको छ भने नौ जनाको मृत्यु भइसकेको छ। भारतमा कोरोनाको पहिलो केस २ माघमा पहिचान भएको थियो। र, तीन महिनाको अवधिमा भाइरसको संक्रमण पुरै भारतभरि नै फैलिसकेको छ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार बिहान कोरोना भाइरसको संक्रमणको पछिल्लो अवस्था र नियन्त्रण तथा रोकथामका सम्बन्धमा मुख्यमन्त्रीहरुसँग छलफल गरेका छन्। भिडियो कन्फरेन्समार्फत् भएको उक्त छलफलमा मुख्यमन्त्रीहरुले कोरोना महामारीको पछिल्लो अवस्था र यसको नियन्त्रणका लागि चाल्नु पर्ने उपायहरुका बारेमा पनि सझुाव दिएका थिए। प्रधानमन्त्री मोदीले मुख्यमन्त्रीहरुबाट लकडाउनको प्रभावकारिता र यसलाई निरन्तरता दिने नदिने सम्बन्धमा पनि सुझाव मागेका थिए। मुख्यमन्त्रीहरुसँगको शनिबारको छलफलपछि प्रधानमन्त्री मोदीले लकडाउनलाई लम्बाउने वा नलम्बाउने विषयमा निर्णय लिने बताइएको छ।

शनिबारको भिडियो संवादमा अधिकांश मुख्यमन्त्रीहरुले लकडाउनलाई कम्तीमा पनि दुई साता लम्बाउनुपर्ने धारणा राखेका छन्। गत २४ मार्चदेखि लागू तीन साता लामो लकडाउन आगामी १४ अप्रिलमा पूरा हुन्छ। विगत केही दिनयता भारतमा कोरोनाको भाइरसको संक्रमणमा भइरहेको तीव्र वृद्धिका कारण लकडाउन थप लम्बिने सम्भावना प्रबल बन्दै गएको छ।

कतिपय राज्य सरकारहरुले त लकडाउन लम्बाउने निर्णयसमेत गरिसकेका छन्। तेलगंना र उडिसा सरकारले लकडाउन थप दुई साता गर्ने यसअघि नै घोषणा गरिसकेका छन्। त्यसैगरी महाराष्ट्र, मध्यप्रदेश, उत्तरप्रदेश, गुजरात, पञ्जाबलगायतका राज्यले पनि लकडाउनलाई लम्बाउने मनस्थितिमा पुगेको बताइन्छ। कान्तिपुर

प्रतिक्रिया