आठ हजार ५ सय ५ को नमुना परीक्षण : १२ जनामा कोरोना पुष्टि

आठ हजार ५ सय ५ को नमुना परीक्षण : १२ जनामा कोरोना पुष्टि

काठमाडौं : नेपालमा आठ हजार पाँच सय ५ जनामा कोरोना परीक्षण हुँदा १२ जनामा कोरोना भाइरस (कोभिड-१९) देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पीसीआर र र्यापिड किटबाट उपत्यका र उपत्यका बाहिर गरी देशभर आठ हजार पाँच सय ५ जनाको नमुना परीक्षण गर्दा १२ जनामा कोरोना पुष्टि भएको हो। 

एक सातापछि आइतबार नेपालमा नयाँ कोरोना संक्रमित  भेटिएका हुन्। पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–२ छपकैयास्थित मस्जिदमा शंकास्पद रूपमा रहेका २१ जनाको नमुना परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि भएको हो। कोरोना पुष्टि हुनेमा ३७, ४४ र ५५ वर्षीय भारतीय पुरुष छन्। उनीहरु तीनै जनाको उपचार वीरगञ्जस्थित नारायणी अस्पतालमा भइराखेको छ। 

शुक्रबार हेटौंडामा परीक्षण गर्दा तीन जनामा कोरोना पोजिटिभ देखिएपछि पुनः परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। आइतबार प्रयोगशालामा पुनः परीक्षण गर्दा उनीहरुमा पोजिटिभ देखिएको हो। यसअघि नेपालमा ९ जनामा कोरोना पुष्टि भएको थियो। जसमध्ये एकजना निको भएर डिस्चार्ज भएका छन्।

अन्य आठजनामध्ये चारजनाको धनगढी र दुईदुई जनाको बागलुङ र टेकुमा उपचार भइराखेको छ। देशभर अहिलेसम्म सात हजार ९ सय ७३ जना क्वारेन्टाइनमा बसेका छन्। राजधानी उपत्यकामा १५ र उपत्यका बाहिर ७० गरेर ८५ को आइसोलेसनमा उपचार भइरहेको प्रवक्ता देवकोटाले बताए।

प्रतिक्रिया