विकास निर्माण नरोकिने, बाली भित्र्याउन दिइने


सुर्खेत वैशाख ३ गते । लकडाउनको अवधि लम्बिए पनि कर्णाली प्रदेशमा विकास निर्माणका योजना सञ्चालन हुने भएका छन्। कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले सीमित जनशक्तिबाट नियन्त्रित रुपमा मेसिन औजारको प्रयोग हुने योजनाको काम सञ्चालन हुन दिने निर्णय गरेको हो।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा मंगलबार बसेको बैठकले खेताला र श्रमिक प्रयोग नगरी खेतीपाती भित्र्याउने काममा समेत रोक नलगाउने निर्णय गरेको छ। बैठकले छिमेकी प्रदेश र जिल्लाबाट मानिस भित्रिने नाकामा सशस्त्र प्रहरी खटाउने निर्णय गरेको छ।
सल्यानको कपुरकोट र कालीमाटी तथा सुर्खेतको बबई, कुइने र चौकुनेमा सशस्त्र खटाउने निर्णय भएको मुख्यमन्त्रीको सचिवालयद्वारा प्रकाशित प्रेसनोटमा उल्लेख छ। यसका साथै अर्को प्रदेशबाट यस प्रदेशमा दूध र दुधजन्य पदार्थ, तरकारी तथा फलफूल, पशुपक्षीजन्य पदार्थ भित्र्याउन भने रोक लगाइएको छ।
प्रतिक्रिया