लकडाउन खुलेको तीन सातापछि एसईई परीक्षा

लकडाउन खुलेको तीन सातापछि एसईई परीक्षा

काठमाडौं वैशाख ४ : कोरोना भाइरस (कोभिड–१९) का कारण अन्तिम समयमा माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएपछि झण्डै पाँच लाख विद्यार्थी अन्योलमा छन् । परीक्षा स्थगित भएको एक महिना पुगिसक्यो । तर, न लकडाउन खुल्ने संकेत देखिन्छ, न तत्काल परीक्षा गर्ने अवस्था छ । पछिल्लोपटक सरकारले गरेको निर्णयअनुसार वैशाख १५ सम्म लकडाउन कायम रहनेछ ।

त्यसपछि पनि लकडाउन खुल्ने/नखुल्ने यसै भन्न सकिन्न । यसले परीक्षाको तयारीमा रहेका विद्यार्थी र अभिभावकमा एसईई परीक्षा के हुन्छ भन्ने चासो बढेको छ ।सरकारको अहिलेसम्मको तयारी हेर्दा ढिलो चाँडो परीक्षा गर्ने नै देखिन्छ । परीक्षा गर्नुको विकल्प पनि छैन । परीक्षा कहिले र कसरी गर्ने भन्ने विषयमा राय दिन राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वमा कार्यदल नै बनाइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयको अहिलेसम्मको तयारी भने लकडाउन खुलेको तीन सातापछि एसईई परीक्षा सञ्चालन गर्ने रहेको स्रोतले बताएको छ ।

प्याब्सन भन्छ : १० दिन भए पुग्छ

निजी विद्यार्थीहरुको छाता संगठन प्याब्सनले भने लकडाउन खुलेको १० दिनपछि एसईई परीक्षा गर्न सकिने राय दिएको छ ।विद्यार्थीहरुले परीक्षाको तयारी गरिरहेको अवस्थामा अघिल्लो दिन मात्र परीक्षा स्थगित भएको भन्दै प्याब्सन अध्यक्ष टीकाराम पुरी भन्छन्, ‘अहिले पनि उनीहरु परीक्षाको तयारीमा नै छन् । त्यसैले लकडाउन खुलेको १० दिनमा परीक्षा गराउन सकिन्छ ।’अन्तरष्ट्रिय प्रचलन अनुसार आन्तरिक मूल्यांकनकै आधारमा एसईईको रिजल्ट घोषणा गर्ने सकिने भए पनि नेपालको हकमा यो विश्वसनीय नहुने हो कि भन्ने प्याब्सनको आशंका छ ।

‘विद्यार्थीलाई सम्बन्धित विषय शिक्षकहरुले जत्ति अरुले बुझेका हुँदैनन्, यो सत्य हो’ पुरीले भन्छन्, ‘तर हरेक विद्यालयले आफ्नो धेरे विद्यार्थी राम्रो ग्रेडमा पास भएको देखाउन चाहने पो हुन् कि छ । विश्वासको वातावरण छैन ।’युनेस्कोको एक रिर्पोट अनुसार १८८ देश मध्ये ११ वटा देशले परिक्षा रद्द गर्ने निर्णय गरेका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुलसीप्रसाद थपलिया सकेसम्म परीक्षा गर्नुपर्नेमा जोड दिन्छन् । उनी भन्छन्, ‘हामीले अहिलेसम्म परिक्षा नगर्ने ढंगले सोचेका छैनौं ।’

परीक्षा कहाँ गराउने ?

परीक्षा नियन्त्रण कार्यालयले बुधबार मात्रै ७७ जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्र लेखेको छ । पत्रमा दैनिक जनजीवन सामान्य भएपछि परीक्षा सञ्चालन गर्ने विषयमा छलफल भइरहेको भन्दै आफ्नो जिल्लाका विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरु सामान्यतया घरबाट आते–जाते गर्न सक्ने र सुरक्षाको व्यवस्था भएको नजिकको अर्को विद्यालयमा गएर परीक्षा दिने व्यवस्था गर्न कतिवटा परीक्षा केन्द्र थप चाहिन्छ भन्ने कुरा तीन दिनभित्र जानकारी गराउन भनिएको छ ।यो पत्रअनुसार परीक्षा नियन्त्रण कार्यालयको तयारी अहिलेसम्म नजिकको विद्यालयमा परीक्षा केन्द्र बनाउने देखिन्छ ।तर, यसमा प्याब्सनले असहमति जनाएको छ । यसो गर्दा सामाजिक दुरी कायम गर्न नसकिने भन्दै प्याब्सनका अध्यक्ष पुरीले भने, ‘सरकारले विद्यालयहरुलाई विश्वास गर्नुपर्छ र जुन विद्यालयमा अध्ययन गरेका छन्, त्यही परीक्षा दिन पाउने व्यवस्था मिलाउनुपर्छ ।’

साथै प्याब्सनले उत्तर पुस्तिकाहरु सानेठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा लैजाने, कोडिङ गर्ने र परीक्षणका लागि पठाउने गर्न व्यवहारिक नहुने बताएको छ ।हरेक जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय इकाइमा उत्तर पुस्तिका पठाउने र त्यही जाँचेर नम्बर मात्र केन्द्रमा पठाएर नतिजा प्रकाशित गर्नुपर्ने आफूहरुको राय रहेको अध्यक्ष पुरीले जानकारी दिएका छन् ।

कक्षा ११ र १२ को परीक्षा कहिले ?

शिक्षा मन्त्रालयले स्थगित भएको कक्षा ११ र १२ को परीक्षा कहिले गर्ने भनेर पनि गृहकार्य सुरु गरेको छ । मन्त्रालय स्रोतकाअनुसार ११ को परीक्षा पनि एसईई जस्तै लकडाउन खुलेको तीन सातापछि गर्न छलफल भइरहेको छ भने १२ को लकडाउन खुले लगत्तै तालिका निकाल्ने भनिएको छ ।निजी विद्यालय सञ्चालकहरुले भने लकडाउन खुलेको १५ दिनमा १२ र एक महिनामा ११ को परीक्षा गर्न सकिने राय दिएको छ । कक्षा ११ को कतिपय कोष पनि पुरा नभएकाले समय लाग्ने उनीहरुको तर्क छ । मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, ‘कक्षा ११ र १२ को हकमा अहिले नै सबै बिग्रियो भन्ने होइन तर लकडाउनका बेला विद्यार्थीलाई कसरी व्यस्त बनाइराख्ने भन्ने चुनौति चाहिँ छ ।’

प्रतिक्रिया