जसले जिते कोरोना

जसले जिते कोरोना

काठमाडाैं वैशाख ७ गते । आइसोलेसनमा बसेकै रातदेखि बाग्लुङकी ६५ वर्षीया मनकुमारी पौडेललाई निद्रा परेन । बुधबार राति एकछिन झकाउँदा १५ वर्षअघि बितेकी उनकी आमा सपनामा आइन् । आमा अघिअघि थिइन्, छोरी पछिपछि ।माथिल्लो गह्राबाट तल्लो गह्रा झर्नुपर्ने भयो । आमाले खुट्किलो देखाइदिइन् । उनी सकुशल तल्लो गह्रा झरिन् । सपना देखेको भोलिपल्ट कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको उनको कानमा पर्यो ।

२४ घण्टाभित्र गरिएको दोस्रो परीक्षणको नतिजासमेत नेगेटिभ आएपछि उनी कोभिड–१९ बाट उम्किइन् । शनिबार पोखराको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर मेसिनमा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । यसअघि बिहीबारको परीक्षणमा पनि नेगेटिभ रिपोर्ट आएको थियो । लगातार दुईपल्ट नेगेटिभ रिपोर्ट आएपछि अस्पतालले उनलाई डिस्चार्ज गर्यो । तीन सातापछि उनी धौलागिरि अञ्चल अस्पतालबाट शनिबार साँझ बाग्लुङ नगरपालिका–३ गौंडाकोटमा रहेको घर फर्किइन् ।

‘सपनामा आमाले दीक्षा दिनुभयो,’ टाठो स्वरले फोनमा उनले भनिन्, ‘खुट्किलोबाट नलडी ओर्लेँ । लडेर ओर्लेको भए निको हुने थिएन कि ।’ उनले रोग निको भएको जस भने आफ्नो आत्मबललाई दिन्छिन् । ‘आत्मबल बढाएपछि केही हुँदो रैन्छ भन्ने विश्वास लायो,’ उनले भनिन्, ‘आत्मबल नै बढाउँछु भने, पानी पिएँ धेरै ।’

उनले दिनमै ४–५ लिटर तातोपानी पिउने गरेको सुनाइन् । उनी दम र उच्च रक्तचापको नियमित औषधि सेवन गर्छिन् । पिसाबमा पनि खराबी छ । दम भएकोले चिसो पानी खान नहुने चिकित्सकको सल्लाहअनुसार उनले पहिलेदेखि नै तातोपानी खाने गरेको बताउँछिन् । ‘तातोपानीले नै राम्रो हुन्छ भन्ने लाग्यो मलाई,’ उनले भनिन्, ‘त्यहीं तातोपानी, दाल, भात, तरकारी खाएँ । खाएरै पेल्न पर्दो रैछ रोगलाई ।’

चैत ४ गते कतार एयरवेजको क्यूआर ६५२ नम्बरको जहाजमा आएकी काठमाडौंकी एक महिलामा कोरोना भेटिएपछि प्रहरी मनकुमारीको घर खोज्दै पुग्यो । ‘लक्षण खासै थाहा पाइनँ । म आफैं बलियो भएर थाहा पाइनँ कि किन पाइनँ,’ उनले भनिन्, ‘सँगै आएकालाई लौ देखियो भनेपछि म छुट्टै बसेँ घरमा ।’ उनको रगतको नमुना काठमाडौं पठाइयो । कोरोना भाइरस पोजिटिभ देखियो । अस्पतालको आइसोलेसनमा राखियो ।

चैत १९ मा उनलाई लिन जान एम्बुलेन्स चालक मानेनन् । जिल्ला जनस्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौ आफैंले चालक खोजेर एम्बुलेन्समा उनलाई लिन गए । ‘एम्बुलेन्सको ड्राइभर कता गए । ज्यानको माया पनि लायो होला,’ उनले भनिन्, ‘अर्को ड्राइभर गएर सुरो मुटु बनाएर ल्याउनुभयो ।’

कोरोना भाइरसको संक्रमण हुँदा ज्वरो आउने, रुघाखोकी लाग्ने लक्षण देखिने उनले समाचारमा सुनेकी थिइन् । अलि पछि मुटु रोगी, दम रोगीलाई धेरै च्याप्ने र निको नहुन पनि सक्ने समाचार सुनिन् । उमेर पुगेकालाई कोरोना लागे निको हुन पनि सक्ने नहुन पनि सक्ने खबर सुनिन् । उनको मनमा चिसो पस्यो । चिकित्सकले भने उनलाई हिम्मत लिन सुझाइरहे ।

अस्पताल पुग्दा उनलाई भाउन्न भयो । रक्तचाप बेस्सरी बढ्यो । चिकित्सकले औषधि दिए । नआत्तिन र ढुक्क भएर बस्न सल्लाह पनि दिए । आइसोलेसनमा बस्दा आफन्त, इस्टमित्रको फोन उठाएरै फुर्सद भएन । फुर्सदको समयमा भजन, दोहोरी गीत सुनेर दिन कटाइन् । बिहानबेलुका चिकित्सक भेट्न जानेको गरेको उनले सुनाइन् । ‘यो जाबो रोग पनि गतिलो त रैन्छ, मान्छेको नजिक पर्नै नहुनी,’ उनले भनिन्, ‘तैपनि डाक्टार आउनुभयो । यस्तो राम्रो गरेर सन्चो बनाउनुभयो, सेवा दिनुभयो ।’

उनी बेल्जियममा दुई साता बिताएर कतार हुँदै नेपाल आएकी थिइन् । विदेशमा रहेका छोरीज्वाइँ भेट्न गएकी थिइन् । नेपाल फर्किंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको ज्वरो नापियो । १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्छ भनेर कसैले भनेनन् । उनी सरासर बाग्लुङ आइन् । ‘त्यतिबेलै घरपरिवारसँग नबस्नु भनेको भए म काठमाडौंमा छोरीको घरमा छुट्टै बस्थेँ,’ उनले भनिन्, ‘पकाएर खान दिने मान्छे पनि थिए । ज्वारो नाप्दा त्यसरी छोड्दिन हुन्थेन नि ।’

कतारबाट काठमाडौं, काठमाडौंबाट पोखरा हुँदै बाग्लुङ आउँदा बाग्लुङकै १९ वर्षीया युवती सँगै थिइन् । मनकुमारीलाई भन्दा पहिले ती युवतीमा कोराना भेटिएको थियो । अहिले ती युवती धौलागिरि अञ्चल अस्पतालकै आइसोलेसन वार्डमा छिन् । उनको चौंथोपल्टसम्मको स्वाब परीक्षणमा पोजिटिभ नतिजा आएको छ । आफूभन्दा कम उमेर र निरोगीलाई कोरोनाले नछोडेको देख्दा मनकुमारी अचम्मित छिन् ।

घर पुगेर उनलाई फेरि होम क्वारेन्टाइनमा बस्ने कुराले पिरोलेको छ । २० महिनाको नाति खेलाउन नपाउने चिन्ता उनीसँग छ । गाउँघरमा उनको सम्पर्कमा रहेका कसैमा कोरोना नदेखिएकोले खुसी पनि छिन् । कोरोना संक्रमितलाई उनी आत्मबलले काम लिनुपर्ने सुझाउँछिन् । ‘यत्रो वर्ष औषधि खाएकी दमकी रोगी त यसरी निको भएँ,’ उनले भनिन्, ‘अरुले पनि आत्मबल बढाएर यसलाई जित्नुपर्छ ।’

अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेल दीर्घरोगीले पनि कोरोना जित्न सक्छन् भन्ने उदाहरणको रूपमा मनकुमारीलाई लिन सकिने उनी बताउँछन् । ‘औषधि नै नभएको रोगबाट उहाँले छुटकारा पाउनुभएको छ,’ उनले भने, ‘हामीले तीन सातासम्म नियमित औषधि खुवाउने काम गर्यौं । हरेक दिन ठीक समयमा औषधि सेवन गर्ने बानी बसाल्यौं । मन्त्रालयको निर्देशनदेखि युट्युबमा भेटिएका धेरै उपचार पद्धति पनि उहाँलाई बुझाउन पायौं ।’

आत्मविश्वासले पनि धेरै रोग निको हुने उनी बताउँछन् । १९ वर्षीया युवतीमा स्वास्थ्यसम्बन्धी अन्य समस्या नदेखिएकोले छिट्टै निको हुने उनको विश्वास छ । उनका अनुसार मनकुमारीको घरपरिवार र छिमेकमा नजिक भएकाको समेत स्वाब परीक्षण भएको छ । सबैको नतिजा नेगेटिभ आएको छ । लकडाउनको सुरुवातमा ‘डेन्जर जोन’ मा देखिएको बाग्लुङ अब बिस्तारै ‘नर्मल’ भएको भन्दै उनले खुसी व्यक्त गरे । मनकुमारीको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि अस्पताल व्यवस्थापन समिति, जिल्लास्थित सुरक्षा समिति र चिकित्सकको टोलीको बैठक बसेर शनिबार उनलाई डिस्चार्ज दिएको हो ।

‘अरुलाई सघाउन तयार छु’

त्यस्तै नेपालको दोस्रो कोभिड–१९ संक्रमित निको भएर शनिबार डिस्चार्ज भएकी छन् । चैत १० मा संक्रमण पुष्टि भएकी काठमाडौंकी १९ वर्षीया युवती टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा उपचाररत थिइन् ।

सबै रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीले जनाएका छन् ।

उनी चैत ४ गते फ्रान्सबाट नेपाल आएकी हुन् । फ्रान्सबाट कतारको दोहासम्म सँगै आएको भियतनामी साथीले फोन गरेर आफूलाई संक्रमण रहेको बताएपछि उनी सतर्क भएकी थिइन् । त्यसपछि सेल्फ क्वारेन्टाइनमा बसेकी उनी चार दिनपछि परिवारका सदस्यसँगै परीक्षणका लागि टेकु अस्पताल पुगेकी थिइन् । अस्पतालबाट बाहिरिनुअघि स्वास्थ्य मन्त्रालयको अनुरोधमा उनले सञ्चारकर्मीसँग आफ्ना अनुभव साटिन् । उपचारमा अस्पतालका सबैको सहयोग रहेको बताइन् ।

कोरोना संक्रमितलाई उपचारमा ल्याउन सबैको सहयोग जरुरी रहेको उनको भनाइ थियो । नेपालमा हालसम्म कोरोनाका गम्भीर बिरामी नदेखिएको उल्लेख गर्दै उनले भविष्यमा उपचारका लागि आफ्नो सहयोग आवश्यक भए दिन तयार रहेको बताइन् ।

उनीअघि पहिलोपटक माघ १० मा पोजिटिभका पहिलो संक्रमित टेकु पुगेका थिए । उनी उपचारपछि घर गए । शनिबार निको भएकी युवती र बागलुङमा उपचाररत अर्की एक महिलाले पनि संक्रमणलाई पराजित गरेपछि मुलुकमा उपचारपछि स्वस्थ हुनेको संख्या तीन पुगेको छ । हालसम्म पाइएका संक्रमितको संख्या ३१ पुगेकामा २८ जना उपचाररत छन् । कान्तिपुर

प्रतिक्रिया