कुहिएको दाल बाँडेको आरोपमा उप-महानगरपालिकाका नगर प्रमुख पक्राउ

कुहिएको दाल बाँडेको आरोपमा उप-महानगरपालिकाका नगर प्रमुख  पक्राउ

वीरगन्ज वैशाख ९ गते  : राहतमा कुहिएको दाल वितरण गरेको आरोपमा प्रहरीले बाराको कलैया उपमहानगरपालिकाका नगर प्रमुख र ५ जना वडा अध्यक्ष सहित १० जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवलाइ मङगलबार नियन्त्रणमा लिएको हो । तीनजना वडा अध्यक्षलाइ सोमबार र दुईजना वडा अध्यक्षलाई भने आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो । 

प्रहरीले सोमबार वडा नम्बर ११ का वडा अध्यक्ष सर्बनारायण चौधरी, वडा नम्बर १३ का वडाध्यक्ष राजन पटेल र वडा नम्बर २६ का वडाध्यक्ष महेश साहलाई  नियन्त्रणमा लिएको थियो । यस्तै आइतबार प्रहरीले वडा नम्बर १ का वडा अध्यक्ष हरिओम साह र वडा नम्बर ७ का वडा अध्यक्ष सर्फुल्लाह अन्सारीलाइ नियन्त्रणमा लिएको थियो । आइतबार नै प्रहरीले वडा नम्बर २० का वडा सचिव खेदु मियाँ, कलैया ७ स्थित यादव आइस एण्ड कोल्ड स्टोरका कर्मचारी कृष्णप्रसाद यादव र वीरगन्जको  धनलक्ष्मी दाल मिलका संचालक तेजकरण जैनलाई नियन्त्रणमा लिइएको थियो ।
 
मङगलबार नगर प्रमुख यादवलाइ कलैया बजारबाट नियन्त्रणमा लिइएको बाराका प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी दिए । मङगलवार नै यादव आइस एन्ड कोल्ड स्टोरका कर्मचारी बच्चु यादवलाइ पनि नियन्त्रणमा लिइएको मिश्रले बताए ।  नियन्त्रणमा लिइएका नगर प्रमुख , वडा अध्यक्षसहित १० जना सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए । 

कुहिएको दाल वितरणमा नगर प्रमुख यादवको नाम पनि मुछिएकाले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिँदै प्रहरी नायव उपरीक्षक मिश्रले भने, ‘ प्रहरी हिरासतमा रहेका यादवसँग बयान लिने काम भइरहेको छ । कलैया उपमहानगरपालिका वडा नम्बर २० बसतपुरमा चैत २८ मा राहतमा बाँड्नका लागि वडा अध्यक्षले लगेको दाल कुहिएको भेटिएको थियो । उक्त दाल खरिद गरिएको कलैया ७ स्थित यादव आइस एण्ड कोल्ड स्टोरमा प्रहरीले चैत २९ गते छापा मारेर त्यहा भण्डारण गरि राखिएको ३ सय ८० बोरा दाल जफत गरी कोल्ड स्टोर सिल गरेको थियो । 

जफत गरिएको दालको नमुना संकलन गरि प्रहरीले परीक्षणका लागि हेटौडा स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रयोगशालामा पठाएको थियो । प्रयोगशालाबाट आएको रिपोर्टमा दाल गुणस्तरहीन र खान अयोग्य रहेको पुष्टि भएपछि प्रहरीले यस विषयमा अनुसन्धान प्रकृया अगाडि बढाएको हो ।त्यहि क्रममा प्रहरीले नगर प्रमुख यादव, वडा अध्यक्षसहित १० जनालाई नियन्त्रणमा लिएको हो ।  दाल जफत गरिएको कोल्ड स्टोर , नगर प्रमुख यादवको रहेको बताइए पनि यादवका काकाका छोरा रविन्द्र यादवले भने कोल्ड स्टोरको सन्चालक आफू रहेको बताउँदै आएका छन् ।

रविन्द्रले कोल्डर स्टोर आफ्नो बुबा राम प्रसाद यादवको नाममा दर्ता रहेको तर बुबाको ५-६ वर्ष पहिले निधन भएपछि आफुले नै कोल्ड स्टोर संचालन गर्दै आएको जिकिर गर्दै आएका छन् ।रविन्द्र यादवले कोल्डस्टोर आफ्नो रहेपनि वीरगन्जको धनलक्ष्मी दाल मिलका संचालक तेजकरण जैनले भाडामा लिएर दालको कारोबार गर्दै आइरहेको बताए । प्रहरीले बरामद गरेको दाल पनि जैनकै रहेको रविन्द्रको भनाइ छ ।   

प्रतिक्रिया