थप दुईजना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या ७ पुग्यो

थप दुईजना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या ७ पुग्यो

डिस्चार्ज भएकी १९ वर्षीया युवती। फाइल तस्बिर।

काठमाडौं  वैशाख १० गते : नेपालमा कोरोनाको उपचारपछि निको हुनेको संख्यामा वृद्धि भएको छ।बुधबार थप दुईजना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ७ पुगेको छ। बुधबार सेती अस्पताल धनगढीबाट एक ४० वर्षीय पुरुष र काठमाडौंको टेकु अस्पतालबाट ३४ वर्षीय पुरुष डिस्चार्ज भएको स्वास्थ्य मन्त्रायले जनाएको छ।

सेती अस्पतालबाट डिस्चार्ज हुने नवौं कोरोना संक्रमित हुन्। उनी चैत १३ गते भारतको उत्तराखण्ड राज्यको चम्पावत जिल्लाको सल्ली भन्ने स्थानबाट कञ्चनपुरको ब्रम्हदेवको बाटो हुँदै लुकेर नेपाल पसेका थिए।उनलाई सोही दिन सशस्त्र प्रहरीले क्वारेन्टाइनमा राखेको थियो।

यस्तै टेकु अस्पतालबाट डिस्चार्ज हुनेमा तेस्रो कोरोना संक्रमित हुन्। धादिङ ३२ वर्षीय ती पुरुष चैत ६ गते यूएईबाट एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट त्रिभुवन विमानस्थलमा उत्रिएका थिए। काठमाडौंको एक होटलमा बसेका उनको स्वास्थ्यमा समस्या आएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका थिए ।  चैत्र १२ गते उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो। 

दुवैजनाको कोरोना परीक्षण नेगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए। यसअघि काठमाडौंस्थित टेकु अस्पतालबाट १९ वर्षीया युवती, बागलुङ हस्पिटलमा ६५ वर्षीया महिला,धनगढीको सेती प्रादेशिक अस्पतालबाट १९ र ३२ वर्षीय युवा निको भएर डिस्चार्ज भइसकेका छन्।

प्रतिक्रिया