दैलेखका ५ सय ८६ जनाको कोरोना रिपोर्ट नेगेटिभ

दैलेखका ५ सय ८६ जनाको कोरोना रिपोर्ट नेगेटिभ

भारतलगायत तेस्रो मुलुकबाट फर्केका नारायण नगरवासीको आरडीटीबाट कोरोना भाइरस संक्रमणको परीक्षण गर्दै स्वास्थ्यकर्मी । तस्बिर : हिक्मतबहादुर नेपाली

हिक्मतबहादुर नेपाली
दैलेख वैशाख ११ गते ।
दैलेखमा र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) र पोलिमरेज चेन रियाक्सन (पीसीआर) प्रविधिमार्फत ५ सय ८६ जनाको कोरोनाको एन्टीबडी परीक्षण गरिएको छ ।आरडीटीमार्फत जिल्लाका विभिन्न स्थानीय तहका गरी ३९ महिला र ४ सय ५८ पुरुष गरी ४ सय ९७ जनाको दु्त परीक्षण गरिएको हो । पीसीआरमार्फत ९ जना महिला र ८० जना पुरुष गरी ८९ जनाको स्वाब नमुना परीक्षण गरिएको हो । 

भारतलगायत तेस्रो मुलक र नेपालका विभिन्न स्थानबाट भित्रिएकाको कोरोना परीक्षण गरिएको बताइएको छ । दैलेखमा गरिएको कोरोना परीक्षण अनुसार आरडीटी परीक्षणका सबै रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत तथा कोभिड-१९ का फोकल पर्सन थीरप्रसाद रेग्मीले बताए ।

फोकल पर्सन रेग्मीका अनुसार पीसीआर प्रविधिमार्फत स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको ८९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखले दिएको जानकारी अनुसार दु्रत परीक्षण (आरडीटी) मार्फत  दैलेख जिल्ला अस्पताल र नारायण नगरपालिकामा गरि २ सय जना, दुल्लु नगरपालिकामा ७ जना, आठबीस नगरपालिकामा ८७ जना, टाठीकाँध गाउँपालिकामा ९ जना,  नौमूले गाउँपालिकामा ५१ जना, भगवतीमाई गाउँपालिकामा ५७ जना र डुङ्गेश्वर गाउँपालिकामा ८६ जनाको कोरोना परीक्षण गरिएको छ ।

भारत लगाएत तेस्रो मुलुकबाट आएका र क्वारेन्टाइनमा बसेका तथा अन्यको दु्रत परीक्षण गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरन्जन पन्तले जानकारी दिए । ‘अझै धेरैको कोरोना परीक्षण गर्न बाँकी छ, हामीलाई ९ सय र्यापिड किट प्राप्त भएको हो,’ उनले भने । जिल्लामा गम्भीर प्रकृतिका शंकास्पद बिरामी नरहेको डा. पन्तले बताए । जिल्लाभर विभिन्न क्वारेन्टाइनमा ८० जना रहेको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ । 

प्रतिक्रिया