रौतहटमा दुई जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ५४ पुग्यो

रौतहटमा दुई जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ५४ पुग्यो

काठमाडौं वैशाख १६ गते ।: मंगलबार रौतहटका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएसँगै संक्रमितको संख्या ५४ पुगेको छ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको स्वाब परीक्षणमा रौतहटका दुई पुरुषमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।  मन्त्रालयका अनुसार अहिले उनीहरुसँग सम्पर्कमा आएका व्यक्तिको बारेमा जानकारी लिने काम सुरु भएको छ। 

संक्रमित दुवैजना रौतहटको बृन्दाबन र देवाही गोनाही नगरपालिकाका हुन्। संक्रमित वृन्दावन नगरपालिका-९ भुषाहटोलका २५ वर्षीय युवक र  देवाही गोनाही १ करुनिया टोलका ३५ वर्षीय पुरुषमा रहेको मन्त्रालयले जनाएको छ। 

बृन्दाबन ९ का संक्रमित युवकलाई रौतहटको चन्द्रपुर नगरपालिका-६ स्थित क्वारेन्टाइनमा १४ दिन  राखेर घर फर्काइएको थियो। उनी कतकत्ता बाट घर आएका थिए। जनकपुरको ल्याबमा परीक्षण गर्दा नेगेटिभ आएपछि उनी वैशाख ६ गते घर गएका थिए। देवाही गोनाहीका संक्रमित पुरुष भने क्वारेन्टाइनमै बस्दै आएका थिए। उनी दिल्लीबाट वैशाख ४ गते घर आएका हुन्।

मंगलबारसम्म ५४ हजार ८ सय २६ कोरोना नमूना परीक्षण भएका छन्। जसमध्ये पीसीआरबाट १० हजार ८ सय ७ र आरडीटी प्रविधिबाट ४४ हजार १९ वटा नमूना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएक छ। गत २४ घन्टामा नयाँ १ हजार १ सय ९३ वटा नमूना परीक्षण भएका छन्।

सातवटै प्रदेशमा आरडीटी परीक्षण भइरहेको छ। प्रदेश १ मा ४ हजार ८ सय २८, प्रदेश २ मा ५ हजार २ सय ४९, बागमतीमा ८ हजार १४ , गण्डकीमा ४ हजार ९ सय ३६, प्रदेश ५ मा  ५ हजार ३ सय २८,कर्णाली प्रदेशमा ५ हजार १ सय ८१ र सुदूरपश्चिम प्रदेशमा १२ हजार २ सय ८३ वटा आरडीटी नमूना परीक्षण भइसकेका छन्।

यस्तै, सातवटै प्रदेशका क्वारेन्टाइमा बस्नेहरुको संख्या २२ हजार ९९  पुगेको छ। प्रदेश १ मा १ मा २ हजार २ सय८८, प्रदेश २ मा १ हजार ५ सय१२ ,बागमतीमा ३ सय ६१, गण्डकीमा ६ सय ७६,प्रदेशमा ५ मा १२ हजार १ सय ६४, कर्णाली प्रदेशमा ३ हजार ७ सय ८९ र सुदूरपश्चिम प्रदेशमा १ हजार ३ सय ९जना क्वारेन्टाइनमा छन्।
यस्तै आसोलेसनमा १०७ जना छन्। जसमध्ये काठमाडौंमा ४ र उपत्यका बाहिर १०३ जना छन्।रेडजोनमा ३०९ जना रहेका छन्।

प्रतिक्रिया