कालिकोटमा कोरोना परीक्षण : स्वाब संकलन गरिएका सबैको रिपोर्ट नेगेटिभ

कालिकोटमा कोरोना परीक्षण : स्वाब संकलन गरिएका सबैको रिपोर्ट नेगेटिभ

कालिकोट वैशाख २१ गते :  जिल्लामा कोरोना परीक्षणका लागि संकलन गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ । हालसम्म कोरोना परीक्षणका लागि विदेशबाट आएकालाई लक्षित गर्दै १३ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो । स्वास्थ्य सेवा कार्यालय कालिकोटका अनुसार हालसम्म जिल्लामा ४ सय २६ जना मानिसहरुको र्यापिड टेस्ट र १३ जनाको स्वाब संकलन गरिएको छ । ती सबैको रिपोर्ट नेगेटिभ आएको छ । पछिल्लो समय सान्नीत्रिवेण गाँउपालिका र तिलागुफा नगरपालिकाबाट दुईजनाको स्वाब संकलन गरी परीक्षणका लागि सुर्खेत पठाइएको थियो । 

स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटकबहादुर महतका अनुसार ती दुई स्वाब नमुनाको रिपोर्ट पनि आइतबार नेगेटिभ आएको छ । सूचना अधिकारी महतले भने, ‘र्यापिड टेस्ट गर्ने स्वास्थ्यकर्मीको टोली गाउँमै छ । पछिल्लो समय जिल्ला बाहिरबाट व्यापक रुपमा मानिस भित्रिएकाले तिलागुफा नगरपालिकाबाट एकजना र न्नीत्रिवेणी गाउँपालिकाबाट एकजनाको स्वाब नमुना परीक्षणका लागि स्वाब संकलन गरी सुर्खेत पठाइएको थियो । 

यसअघि ११ जनाको स्वाब संकलन गरी परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।जिल्लामा अहिले पनि २ सय ८८ जना क्वारेन्टाइनमा छन् । पछिल्लो समय जिल्लाका ९ वटै स्थानीय तहमा झण्डै ६ हजारभन्दा बढी मानिस जिल्ला भित्रिएका थिए । ती सबै मानिसलाई क्वारेन्टाइमा स्थानीय तहले राख्न सकेनन् । क्वारेन्टाइनमा बसेका विदेशबाट आएका तथा संक्रमित पहिचान भएको ठाउँबाट आएका मानिसलाई लक्षित गरी नमुना र्यापिड टेस्ट गर्ने कार्य जारी नै छ । हालसम्म झण्डै एक हजार भन्दा बढी मानिस क्वारेन्टाइनमा बसेर घर फर्किसकेका छन् । 

प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले कोरोनाको जोखिमका हिसाबले जिल्ला सामान्य रहेको बताए । उनले गाउँमा पछिल्लो समय भित्रिएका मानिसको र्यापिड टेस्ट गर्दा पनि सबैको रिपोर्ट नेगेटिभ आएकाले कालिकोटमा कोरोनाको जोखिम नरहेको बताए । उनले भने, ‘सरकारले घोषणा गरेको लकडाउनलाई पालना गराउने तथा आवश्यक समन्वय गर्न कार्य भइरहेको छ ।’ यस जिल्लामा कोरोनाको लक्षण भएको बिरामी छैनन् । हालसम्म गरिएका सबै परीक्षणको रिपोर्ट नेगेटिभ आएकाले कोरोना संक्रमणको जोखिम छैन् । सबैलाई घर भित्रै बसेर लकडाउनको पालना गर्नुका साथै कोरोनाको संक्रमणबाट जागिन सबैलाई अपिल पनि गरिएको उनले बताए।

प्रतिक्रिया