कोरोनाभाइरस नियन्त्रणमा उत्कृष्ट काम गर्ने पाँच महिलामा नेपाली पनि

कोरोनाभाइरस नियन्त्रणमा उत्कृष्ट काम गर्ने पाँच महिलामा नेपाली पनि

काठमाडौं वैशाख २१ गते ।: विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरुको संघर्ष ऐतिहासिक छ ।परिवार र आफन्तबाट टाढै रहेर ज्यानकै जोखिम मोल्न उनीहरु तयार देखिएका छन् । यस्तो महामारीमा स्वास्थ्यकर्मीले देखाएको त्यागलाई इतिहासले पक्कै बिर्सन सक्क्नेछैन । यस्तैमा संयुक्त राष्ट्रसंघीय निकाय (यूएन वुमन) ले हालै कोभिड १९ नियन्त्रणका लागि फ्रन्टलाइनमा रहेर उत्कृष्ट काम गर्ने महिलाहरुको संघर्ष कथा सार्वजनिक गरेको छ ।

जहाँ नेपाली महिला डा. रुना झा पनि परेकी छन् । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा निर्देशकको रुपमा कार्यरत झाले हाल नेपालमा कोरोना भाइरस परीक्षणको नेतृत्व गरिरहेकी छन् ।रिपोर्टका अनुसार झाको टोलीले दैनिक ७० वटा नमुना परीक्षण गर्दैआएको छ । यूएन वुमनका लागि झाले दिएको प्रतिक्रियामा उनले यस क्रममा छोरी, श्रीमान र आमाबाबुसँगै बस्न नपाएको र उनीहरुलाई सम्झिएको बताएकी छन् ।

गत फेब्रुअरीमा चीनको वुहानबाट १ सय ७५ नेपाली विद्यार्थीलाई ल्याएर भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा राख्दादेखि नै रुनाको टोली यो कार्यमा खटिन थालेको हो । झा सहित उनको टोली पछिल्लो सम दिन, रात नभनी कोभिड १९ परीक्षणमा खटिँदैआएको छ । यतिसम्म कि, रातभर सम्म पनि उनीहरु परीक्षणमा व्यस्त रहेको उनले बताएकी छन् ।

यूएन वुमनले तयार पारेको उक्त रिपोर्टमा नेपाली महिलासँगै चीन, जोर्डन, काजकस्तान र अमेरिकाका महिला उत्कृष्ट पाँचमा छानिएका छन् । उनीहरु सबैले कोभिड १९ नियन्त्रणका लागि कठिन अवस्थाका बावजुद जोखिम मोलेर रातदिन काम गरिरहेका छन् ।

प्रतिक्रिया