सेभ द चिल्ड्रेनद्धारा सरकारलाई १७ सय ४३ सेट पीपीई हस्तान्तरण

सेभ द चिल्ड्रेनद्धारा सरकारलाई १७ सय ४३ सेट पीपीई हस्तान्तरण

थप २ हजार थान दिइने

काठमाडौँ वैशाख २१ गते । सेभ द चिल्ड्रेनले सरकारलाई १ हजार ७ सय ४३ सेट व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) र अन्य स्वास्थ्य सामग्री प्रदान गरेको छ ।आइतबार मन्त्रालयमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको हो ।सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री ढकालले यी सामग्रीले सरकारलाई स्वास्थ्य सेवा सुदृढीकरण गर्न र स्वास्थ्यकर्मीहरुलाई कोभिड–१९ को संक्रमणबाट रोक्न सहयोग गर्ने बताए ।

व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सेट विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्ड अनुसारका रहेको सेभ द चिल्ड्रेनद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।सरकारलाई मद्दत गर्ने र बालबाकालिसहित जोखिममा रहेकाहरुलाई स्वास्थ्य सेवा सुनिश्चित गराउने प्राथमिकता रहेको सेभ द चिल्ड्रेन नेपालका अन्तरिम राष्ट्रिय निर्देशक बन्दना रिसालले बताइन् ।

थप २ हजार सेट व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) को खरिद प्रक्रियामा रहेको र प्रक्रिया सकिएलगत्तै सरकारलाई हस्तान्तरण गरिने जारी विज्ञप्तीमा जनाइएको छ ।पीपीई बाहेक इन्फ्रारेड थर्मोमिटर, एन–९५ मास्क, कार्डिआक मोनिटर, इलेक्ट्रिक सक्सन मेसिन, ईसीजी मेसिन लगायतका सामग्री उपलब्ध गराइएको जारी विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया