लकडाउनको मोडालिटी तयार गर्न उच्चस्तरीय समितिको बैठक

लकडाउनको मोडालिटी तयार गर्न उच्चस्तरीय समितिको बैठक

काठमाडौं वैशाख २२ गते :  लकडाउनको निरन्तरता र मोडालिटिबारे छलफल गर्न कोरोना  रोकथाम तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको बैठक सोमबार अपरान्ह बस्दैछ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा २ बजे बोलाइएको बैठकमा कोरोना संक्रमणको वर्तमान अवस्था, संभावित जोखिम र लकडाउनले पारेको असरबारे छलफल तथा समीक्षाा हुनेछ।

उच्चस्तरीय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बोलाएको बैठकमा लकडाउनको आगामी स्वरुपबारे विज्ञहरुसँग परामर्श गरिने उपप्रधानमन्त्री पोखरेलको सचिवालयले जनाएको छ। ४२ दिनदेखि निरन्तर लागु गरिएको लकडाउनको पछिल्लो अवधि  २५ वैशाख सकिँदैछ।लकडाउनलाई केही खुकुलो बनाउन विकल्पबारेमा गृहकार्य भए पछि अझै टुंगो लागेको छैन। राजधानी प्रवेश गर्ने सबै नाकाहरुमा सुरक्षा जाँचलाई कडाइ गरेर राजधानीभित्र समय तोकेर निश्चित क्षेत्रका लागि केही खुलाउने वा खुकुलो बनाउन विभिन्न क्षेत्रबाट सरकारलाई दबाब दिइएको छ

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा आइतबार बसेको सुरक्षा निकायका प्रमुखहरूको बैठकमा पनि लकडाउनको स्वरूपका बारेमा छलफल भएको थियो। सरकारले कोरोना संक्रमणको खतरा बढ्दै गएपछि पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लक-डाउनको निर्णय गरेको थियो। त्यसपछि सरकारले पटकपटक लकडाउनलाई लम्बाउँदै आएको छ।

छिमेकी भारतमा वैशाख २१ सम्म लागु गरिएको लकडाउन जोखिम कायमै रहेकोले थप दुई हप्ता लम्बाइएको छ। भारतमा लकडाउन कायम हुँदै यता खुकुलो बनाउँदा वा खुलाउँदा  खुला सीमाका कारण जोखिम थप बढ्ने भएकोले पनि सरकार लकडाउन लम्बाउने रणनीतिमा छ।खासगरी नेपालगञ्जमा एकैदिन १५ जनाका कोरोना पुष्टि भएपछि समुदायस्तरमा संक्रमण बढ्ने जोखिम देखिएको छ।  शुक्रबार संक्रमण देखिएका व्यक्तिकै सम्पर्कमा आएका व्यक्तिहरुमा कोरोना देखिएको बताइएको छ।

गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरस संक्रमण विश्वव्यापी महामारी बनेको छ। पछिल्लो तथ्यांकअनुसार विश्वभर ३५ लाखभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् । अहिले सम्म २ लाख ४७  हजार बढीको मृत्यु भइसकेको छ। अधिकांश देशहरु कोरोना भाइरसको संक्रमणबाट प्रभावित भइसकेका छन्। नेपालमा पनि ७५ जनामा कोरोना पुष्टि भइसकेको छ। 

प्रतिक्रिया