कपिलवस्तुका दुई जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १०१ पुग्यो

कपिलवस्तुका दुई जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १०१ पुग्यो

काठमाडौं : बिहीबार कपिलवस्तुका दुई जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा १६ र २२ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार योसँगै संक्रमितको संख्या १०१ पुगेको छ ।

नेपालमा हालसम्म ६८ हजार ६०२ नमूना परीक्षण भएका छन्। जसमध्ये आरडीटी ५४ हजार ९३ र पीसीआर प्रविधिबाट १४ हजार ५०९ नमूना परीक्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए।

गत २४ घन्टामा १ हजार ४५१ नयाँ नमूना परीक्षण भएको छ। यस्तै सातवटै प्रदेशमा आरडीटी परीक्षण भइरहेको छ। जसमध्ये प्रदेश १ मा, ६ हजार ५५९  प्रदेश २ मा ५ हजार ३४८ ,बागमती प्रदेशमा ९ हजार ०४४ ,गण्डकीमा  ६हजार ३४९, प्रदेश ५ मा ५ हजार ७१३ प्रदेश कर्णालीमा ६हजार ६०८ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ४७२ गरी जम्मा ५४ हजार ९३ वटा परीक्षण भएका छन्।

त्यस्तै क्वारेन्टाइनमा बस्नेको संख्या १७ हजार ३७२ पुगेको छ। जसमध्ये  प्रदेश १ मा, १ हजार ९१५  प्रदेश २ मा१ हजार २९० ,बागमती प्रदेशमा २६१ ,गण्डकीमा ५२८ , प्रदेश ५ मा ६हजार ८१२ प्रदेश कर्णालीमा ३हजार ८९ र सुदूरपश्चिम प्रदेशमा ३हजार ४७७ कुल १७ हजार ३७२ परीक्षण भएका छन्।

रेड जोनमा ३३५ जना पुगेका छन्।  यस्तै आइसोलेसनमा १३३ जना छन् भने जसमा उपत्यकाभित्र ३ र उपत्यका बाहिर १३० जना छन्। नेपालमा हालसम्म संक्रमितको संख्या १०१ पुगेको छ। जसमध्ये ७३ जना पुरुष र २८ जना महिला रहेका छन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। 

संक्रमितमध्ये २२ जना निको भएका छन् । जसमध्ये तीन जनाको स्वाब परीक्षण रिपोर्ट पोजिटिभ देखिएपछि पुनः अस्पताल भर्ना गरिएको छ ।  काठमाडौंमा उपचार गराएका एक र वीरगञ्जमा उपचार गराएका दुई जनाको स्वाब परीक्षणको रिपोर्ट फेरि पोजिटिभ देखिएको हो । देवकोटाका अनुसार उनीहरुलाई पुनःअस्पताल भर्ना गरिएको हो ।  

प्रतिक्रिया