कोरोनामुक्त ८ जना डिस्चार्ज

कोरोनामुक्त ८ जना डिस्चार्ज

विराटनगर वैशाख २६ गते । विराटनगरमा उपचाररत उदयपुरको भुल्केका थप ८ जना संक्रमितहरु कोरोनामुक्त भएर शुक्रबार डिस्चार्ज भएका छन् । लगातार दुई पटक गरेको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि विराटनगरस्थित कोशी अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्रको आइसोलेशनमा रहेका उनीहरु डिस्चार्ज भएका हुन् । उपचार केन्द्रमा रहेका ६ जना गत बुधबार कोरोनामुक्त भएर डिस्चार्ज भएका थिए ।

अस्पतालको आइसोलेसनमा रहेका थप ८ जना कोरोनामुक्त पुष्टि भएपछिडिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । शुक्रबार कोरोना जितेर डिस्चार्ज भएकाहरुमा उदयपुरका अजाद आलम, मो, परबेज आलम, मुख्तार मियाँ र रौसन खातुन, विराटनगरका आइमुन मियाँ र इजरायल मिया तथा भारतीय नागरिक मो. आदिम छन् । डिस्चार्जपछि पनि उनीहरु क्वारेन्टाइनमा बस्नुपर्ने कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. संगिता मिश्राले जानकारी दिनुभयो । डिस्चार्ज भएकाहरुलाई इम्युनिटी पावर बढाउने आयुर्वे्दिक औषधि दिएर पठाइएको छ । डिस्चार्ज भएकामाध्ये ७ जनालाई विराटनर रानी स्थित मस्जिदको क्वारेन्टाइनमा राखिनेछ भने उदयपुर भुल्केकी महिलालाई घरमै क्वारेन्टाइनमा बस्नेगरी पठाइएको छ ।

भुल्केको मस्जिदमा बसेका भारतीय जमाती एक जना, मस्जिदमै रहेका विराटनगर १७ का २ जना र एक महिलासहित भुल्केका स्थानीय ५ जना डिस्चार्ज भएका हुन् । उनीहरुमा वैशाख ८, ९ र १० गते संक्रमण पुष्टि भएपछि उपचार केन्द्रमा ल्याइएको थियो । चिकित्स्कीय निगरानीमा रहेका उनीहरुले कुनै औषधि सेवन नगरी आफ्नै रोग प्रतिरोध क्षमताले कोरोना परास्त गरेको अस्पतालले जनाएको छ । प्रदेश १ मा भेटिएका ३१ संक्रमितमध्ये १४ जना डिस्चार्ज भएकोले अब अस्पतालको आइसोलेसनमा १७ जना रहेका छन् । अस्पतालबाट कोरोनामुक्त भएकाहरुलाई केही समय क्वारेन्टाइनमा राखिनेछ । यसअघि डिस्चार्ज भएका ६ जनालाई विराटनगरस्थित रानी मरकजमा क्वारेन्टाइनमा राखिएको छ ।

प्रतिक्रिया