विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई ल्याउनेबारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई ल्याउनेबारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौँ वैशाख २९ गते । कांग्रेस सांसद गगन थापाले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश ल्याउने बारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् । ुकोरोना महाव्याधीबाट प्रभावित विभिन्न देशमा अफ्ठ्यारोमा परेका नेपालीहरुलाई तत्काल सुरक्षित रुपमा स्वदेश फिर्ताको व्यवस्था गर्नु शीर्षकको प्रस्ताव थापाले सोमबार संसद सचिवालयमा दर्ता गराएका हुन् ।

‘नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुकहरू मलेसिया, साउदी, कतार, युएई बहराइन, ओमनलगायतका देशमा महामारी बढ्दै गएको अवस्था छ । यो अवस्थामा आफ्नो स्वास्थ्य र सुरक्षाका लागि श्रमिकहरू समेत स्वदेश फर्कन खोजेका छन भने रोजगारदाता देशहरूले समेत स्वदेश फिर्ताका लागि प्रेरित गरिरहेको अवस्था छ । अध्ययनहरू अनुसार ती देशहरूमा रोजगारदताले कयौं श्रमिकलाई बिना पूर्वजानकारी कामबाट निकाल्ने, करार टर्मिनेट गर्ने, बेतलबी बिदामा जान दबाब दिने, पारीश्रमिक नदिने वा दिएमा पनि पूरै नदिने गरेको पाइएको छ,’ प्रस्तावमा भनिएको छ, ‘कयौं श्रमिकहरुले खान नपाएका, पारिश्रमिक नदिइएकाहरु आफूसँग भएको रकम सकिएपश्चात् खाद्यान्न र अत्यावश्यक सामाग्री समेत किन्न नसक्ने अवस्थामा पुगेका घटनाहरू सार्वजनिक भइरहेका छन् । रोजगारी गुमाउनेक्रम बढ्दै गएको छ ।’

यसकारण अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश ल्याउनु पर्ने भन्दै प्रस्ताव दर्ता गराइएको छ । सांसद डिला संग्रौला र प्रकाश रसाइलीले समर्थन गरेको प्रस्तावमा यस बिषयमा संसदमा छलफल गरि सरकारलाई निर्देशन र सुझाव दिन आग्रह गरिएको छ ।

प्रतिक्रिया