दैलेखका कोरोना संक्रमित भन्छन्- ‘अस्पताल आएपछि बाँच्ने आँट बढ्यो’

दैलेखका कोरोना संक्रमित भन्छन्- ‘अस्पताल आएपछि बाँच्ने आँट बढ्यो’

हिक्मतबहादुर नेपाली
दैलेख जेठ ११ गते ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको पाँच दिनपछि सुर्खेत ल्याइएका दैलेखका कोरोना संक्रमित युवाले बाँच्ने आँट बढेको बताएका छन् । उपचारका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालको आइसोलेसनमा भर्ना भएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

यसअघि उनलाई दैलेख सदरमुकाममा रहेको एक स्कुलमा राखिएको थियो । नारायण नगरपालिकाको तर्ताङ्गस्थित झुप्रेसालमा रहेको सरस्वती मावीमा राखिएको बेला उनले बारम्बार आफूलाई अस्पताल लैजान हारगुहार नै गरेका थिए ।  चर्को दबावपछि उनलाई शुक्रबार साँझ सुर्खेत ल्याइएको हो । हाल उनको कर्णाली प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालमा राखेर उपचार भइरहेको छ । अस्पतालमा भर्ना भएका उनले भने, ‘दैलेखमा हुँदा मनोबल कमजोर भएको थियो, बाँच्दिनकी भन्ने डर थियो, तर यहाँ आएपछि राम्रो उपचार पाएको छु, मनमा बाँचिन्छ भन्ने आँट पनि बढेको छ।’

दैलेखको आठबीस नगरपालिका वडा नम्बर १ सात्तलाका ३५ वर्षीय ती युवालाई कोरोना संक्रमण पुष्टि भएको पाँच दिनपछि शुक्रबार कोरोना विशेष अस्पताल सुर्खेत ल्याइएको थियो ।  सुरुमा अस्पतालमा नभई मापदण्ड नपुगेको स्कुलको एउटा कोठामा आइसोलेसनमा राखिएको थियो । यसको चर्को विरोध भएपछि उनलाई प्रदेश अस्पताल ल्याइएको हो । कर्णालीको पहिलो कोरोना संक्रमित उनले प्रदेश अस्पतालमा आएपछि आफ्नो मनोबल बढेको बताएका हुन् । उनले सुर्खेत आएपछि राम्रो उपचार पाउन थालेको भन्दै अब आफूलाई समस्या नभएको बताए ।

प्रतिक्रिया