एउटै वडाका ४२ जनामा कोरोना संक्रमण, कर्णालीमा संक्रमितको संख्या ४८९ पुग्यो

एउटै वडाका ४२ जनामा कोरोना संक्रमण, कर्णालीमा संक्रमितको संख्या ४८९ पुग्यो

दैलेख जेठ २३ गते । कर्णाली प्रदेशमा एकैदिन सय जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये दैलेखको एउटै वडामा ४२ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाको महाबु गाउँपालिका-२ वडाखोलामा एकै दिन ४२ जनामा कोरोना पुष्टि भएको हो । कर्णाली प्रदेश अस्पताल सुर्खेत स्थित पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लास्थित प्रयोगशालामा गरिएको परीक्षणमा थप एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय अन्तरगर्तको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । 

अब योसहित कर्णालीमा संक्रमितको संख्या ४ सय ८९ पुगेको छ ।दैलेखको ९१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जनाएका छन् । योसहित दैलेखमा कोरोना संक्रमितको संख्या ३ सय ८ जना पुगेको छ । डा. तिवारीका अनुसार दैलेखको महाबु गाउँपालिकामा मात्रै ६४ जनामा कोरोना संक्रमण देखिएको छ । 

यस्तै दुल्लु नगरपालिकामा २७ जनामा कोरोना संक्रमण देखिएको डा.तिवारीले जनाए । त्यस्तै जुम्लाको चन्दननाथ नगरपालिकाका ३, हुम्लाको चंखेली गाउँपालिकाका १,  सुर्खेतको पञ्चपुरी नगरपालिकाका १, जाजरकोटको भेरी नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ ।

बाँकी दोलखाको तामाकोशी गाउँपालिकाका १, रामेछापको दोरम्बा गाउँपालिकाका १, गोरखाको आरुघाट गाउँपालिकाका १ जना छन् । 

प्रतिक्रिया