ओली-दाहालबीच जुटेन सहमति, भोलि फेरि बस्ने

ओली-दाहालबीच जुटेन सहमति, भोलि फेरि बस्ने

काठमाडौँ असार २१ गते । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो भएको छलफलमा कुनै सहमति जुट्न सकेन । 

आफू निकट नेताहरूसहित छलफलमा बसेका ओली र दाहालले सोमबारका लागि बोलाइएको स्थायी कमिटी बैठक पहिले फेरि दुवैजना बस्ने निर्णय गरेको नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले बताए । दुवै नेताबीच विवादित विषयमा छलफल भएको तर कुनै निर्णय भने ननिस्किएको उनले बताए ।दुवै अध्यक्षबीच सबै विकल्प र सम्भावनाबारे छलफल गर्न सहमति भएको बताइएको छ ।

छलफलमा सहभागी अर्का एक नेताका अनुसार दुवैबीच राष्ट्रपतिलाई महाभियोग लगाउन षडयन्त्र भइरहेको भनेर प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे पनि छलफल भएको थियो । ‘राष्ट्रपतिलाई महाभियोग लगाउने भन्नेबारे पनि छलफल भएको थियो । अध्यक्ष दाहालले आफू निकट नेताहरूबीच राष्ट्रपतिबारे त्यस्तो छलफल नभएको बताउनुभयो,’ ती नेताले भने, ‘अध्यक्ष दाहालले प्रधानमन्त्रीलाई केही कुरा नचलेको विषयमा र तयारी पनि नरहेको विषयमा कसरी कुरा आयो भनेर सोध्नुभएको थियो ।’

पार्टी भित्रको मतभेदमा राष्ट्रपतिलाई मुछ्न नहुनेबारे अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए ।त्यस्तै, सडकमा भइरहेका गतिविधिले पार्टी एकता कमजोर बनाउने भन्दै त्यस्ता गतिविधि रोक्ने विषयमा दुवैबीच छलफल भएको सहभागी नेताहरूले बताएका छन् ।बालुवाटारमा भएको छलफलमा ईश्वर पोखरेल, विष्णु पौडेल, वर्षमान पुन, शंकर पोख्रेल, जनार्दशन शर्मा सहभागी थिए ।नेकपाले स्थायी कमिटी बैठक सोमबारका लागि बोलाइएको छ । उक्त बैठकअघि दुवै अध्यक्षबीच निर्णायक छलफल हुने बताइएको छ ।

प्रतिक्रिया