ढलमा भाइरस देखियो भन्दैमा नआत्तिनू : स्वास्थ्य मन्त्रालय

ढलमा भाइरस देखियो भन्दैमा नआत्तिनू : स्वास्थ्य मन्त्रालय

काठमाडौँ असार २१: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढलमा भाइरस देखियो भन्दैमा नआत्तिन र नडराउन अनुरोध गरेको छ । मन्त्रालयले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले ढलको पानीमा कोरोना भाइरस देखिए पनि समुदायमा फैलियो भन्न नमिल्ने बताएका हुन् ।

प्रवक्ता गौतमले भने, ‘विश्वका अन्यत्र भएका अध्ययनले व्यक्ति कोभिड १९ संक्रमित रहेको अवस्थामा वा निको भइसकेपछि पनि ढलमा कोभिड १९ भाइरस आरएनए फ्रयाक्टमेन्ट अर्थात् भाइरसका टुक्राटाक्री भेटिएको देखिन्छ । जुन सामान्यतया रोग सार्ने खालको हुँदैन ।’

सामान्य तापक्रमको पानी, फोहोर पानी, अस्पतालबाट निस्किने ढलको पानीमा पनि २ दिनसम्म भाइरस बाँच्ने उनले बताए । प्रवक्ता गौतमले ढलको पानीमा भाइरसको पहिचान भए पनि यसको माध्यमबाट सर्न सक्ने सम्भावनालाई अहिलेसम्म कुनै पनि देशले पुष्टि नगरेको बताए । उनले ढलमा अन्य रोगका किटाणु पनि भएकाले विशेष सतर्कता अपनाउन भने आग्रह गरे । सरसफाईकर्मीहरुलाई स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अपनाउन पनि आग्रह गरे ।

विशेषगरी कोरोना संक्रमण स्वासप्रश्वासबाट, संक्रमित व्यक्तिले हाँछ्यु गर्दा वा खोक्दा नजिकमा रहेका व्यक्तिहरुलाई छिटाको माध्यमबाट वा संक्रमितका हातले छोएको कुनै पनि सतह भाइरस केही घन्टा वा केही दिनसम्म जीवित रहन सक्ने प्रवक्ता गौतमले बताए ।मन्त्रालयले अबदेखि क्वारेटाइनमा बस्दा/राख्दा अनिवार्य मास्क लगाउन र निस्कनुपूर्व अनिवार्य स्वास्थ्य अवस्था जाँच गरी रिपोर्ट गर्न पनि भनेको छ ।

प्रतिक्रिया