शैलेश थापा नयाँ आईजीपी नियुक्त

शैलेश थापा नयाँ आईजीपी नियुक्त

काठमाडौं असार २३ गते । शैलेश थापा क्षत्री नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त भएका छन् ।  मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयको सिफारिसमा थापालाई आईजीपी नियुक्त गरेको हो ।आईजीपी ठाकुरप्रसाद ज्ञवालीले बुधबारबाट अनिवार्य अवकाश लिँदै छन्। २८औं आईजीपीको ‘दौड’मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पाललाई पछि पार्दै थापा आईजीपी बनेका हुन् । 

यस पटकको आईजीपी नियुक्तिमा विगतमा जस्तो कुनै विवाद र हानथाप थिएन। क्षत्री र पाल दुवै जना २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन्। दुईमध्ये जो नेतृत्वमा पुगे पनि मिलेर काम गर्ने समझदारी उनीहरुबीच थियो । 

क्षत्रीले डीआईजी हुँदा प्रहरी केन्द्रीय प्रवक्ता, महानगरीय प्रहरी कार्यालय रानीपोखरीको नेतृत्व गरेका थिए। एआईजी भइसकेपछि उनी मानव स्रोतसाधन र प्रशासन विभागको नेतृत्वमा थिए ।

क्षत्रीले सशस्त्र द्वन्द्वका बेला जिल्ला प्रहरी सल्यानको प्रमुख भएर काम गरेका थिए। त्यसपछि क्रमशः सिन्धुपाल्चोक, कास्की, धादिङ र झापामा प्रहरी प्रमुख भए।  नयाँ आईजीपीका लागि प्रमुख चुनौती भनेको संगठनको खस्किँदै गएको साख जोगाउनु हो। 

प्रतिक्रिया