जाजरकोटको बारेकोटमा पहिरो : तीनको मृत्यु,१२ बेपत्ता, एक घाइते, ३ घर बगे

जाजरकोटको बारेकोटमा पहिरो : तीनको मृत्यु,१२ बेपत्ता, एक घाइते, ३ घर बगे

जाजरकोट असार २६ गते । जाजरकोटको बारेकोट गाउँपालिका विभिन्न स्थानमा गएको पहिरोमा परी तीनजनाको मृत्यु भएको छ। १२ जना बेपत्ता छन् । एकजना घाइते भएका छन् । तीन घर पहिरोले पुरेको छ । बारेकोट ४ जिरी सार्कीटोलमा बिहीबार राती पहिरोले दुई घर बगाउँदा बेपत्ता भएका १२ मध्ये तीनजनाको शव फेला परेको छ । मृतकको नाम खुल्न सकेको छैन । पहिरोमा बेपत्ता ९ जनाको खोजी भइरहेको छ ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले दिएको जानकारी अनुसार बिहीबार राती अविरल वर्षा पछि गएको पहिरोले बारेकोट ४ सार्कीगाउँका गोपाल सार्की र कलु सार्कीको घर बगाएको हो।

कुशे गाँउपालिका ९ चौताराबाट पाहुन गएका चारजना पनि घटनामा परी बेपत्ता छन् । प्रहरी घटनास्थल पुगिसकेको छ । त्यस्तै बारेकोट ६ धुमाका शान्तबहादुर चलाउनेको घर पहिरोले बगाउँदा उनीसहित घरका तीनजना बेपत्ता भएको प्रहरी नायव उपरीक्षक किशोर श्रेष्ठले बताए । 

घटनास्थलमा टेलिफोनले नलाग्ने र प्रहरी सञ्चार सेटले समेत काम नगर्दा सूचना संकलनमा समस्या भएको उनले बताए । त्यस्तै बारेकोट ४ का लालबहादुर नेपाली पहिरोमा परी गम्भीर घाइते भएका छन् । पहिरोले घर भत्काएको र भाग्ने क्रममा उनी घाइते भएका हुन् । उनको उद्धारका लागि हेलिकोप्टर मगाइएको गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताए ।

प्रतिक्रिया