बलात्कार आरोपमा पक्राउ परेका सशस्त्रका एसएसपी अधिकारीलाई निलम्बन गर्न गृहलाई पत्र

बलात्कार आरोपमा पक्राउ परेका सशस्त्रका एसएसपी अधिकारीलाई निलम्बन गर्न गृहलाई पत्र

काठमाडौँ असार ३१ गते । दंगा व्यवस्थापन शिक्षालय लामापाटन पोखरामा कार्यरत सशस्त्र प्रहरीका एसएसपी राजेन्द्र अधिकारीलाई निलम्बन गर्न सशस्त्र प्रहरी मुख्यालयले गृहमा पत्र पठाएको छ । एसएसपी अधिकारी विरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीमा बलात्कार आरोपमा उजुरी परेको थियो । 

चितवन घर भई पोखरामा बस्दै आएकी एक महिलाले एसएसपी अधिकारी विरुद्ध उजुरी दिएपछि कास्की प्रहरीले सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी मुख्यालयसँग समन्वय गरेर उनलाई पक्राउ गरेको थियो । प्रहरीले एसएसपी अधिकारीलाई झाडीमा लुकिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउको व्यहोरा पाएलगत्तै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आरोपित एसएसपी अधिकारीलाई निलम्बन गर्न पत्र पठाएका हुन् । गृहमन्त्रीबाट आईजीपी खनालको पत्र सदर भएपछि अधिकारी औपचारिक रुपमा निलम्बनमा पर्नेछन् ।

अधिकारी गतवर्ष मात्रै लामापाटनमा सरुवा भएका थिए । ‘बलात्कार आरोपमा एसएसपी अधिकारी विरुद्ध उजुरी परेपछि उनीमाथि लागेको कसुरको टुंगो नलागेसम्म निलम्बन गर्न गृहलाई पत्र पठाएका छौं,’ सशस्त्र प्रहरी स्रोतले कान्तिपुरसँग भन्यो, ‘उनी आजैबाट निलम्बनमा पर्नेछन् ।’अधिकारी पक्राउ परेपछि सशस्त्रको लामापाटन शिक्षालयले पक्राउ पुर्जी र कसुरको विवरण फ्याक्स गरेर मुख्यालयमा पठाएको थियो ।

प्रतिक्रिया