प्राकृतिक प्रकोपले कर्णालीमा बर्सेनी साढे दुई अर्बको क्षति

प्राकृतिक प्रकोपले कर्णालीमा बर्सेनी साढे दुई अर्बको क्षति

सुर्खेत साउन ८ गते । प्राकृतिक प्रकोपका कारण कर्णालीमा बर्सेनी साढे दुई अर्ब बराबरको क्षति हुने गरेको छ। बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपबाट हरेक वर्ष नागरिकको ज्यान जान्छ। यस्तै प्रकोपले ठूलो मात्रामा भौतिक क्षति पनि धेरै हुने गरेको सरकारी तथ्याकंले देखाएको छ।

प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार कर्णालीमा बार्षिक साढे दुई अर्ब भन्दा बढीको भौतिक क्षति हुने गरेको छ। बितेको आर्थिक वर्षमा मात्र प्राकृतिक प्रकोपबाट प्रदेशले दुई अर्ब ६३ करोड १९ लाख २३ हजार दुई सय सात रुपैयाँ बराबरको भौतिक तथा आर्थिक क्षति भोगेको छ। जसमध्ये पनि बाढी र पहिरोबाट सबैभन्दा बढी धनजनको क्षति भएको छ।

गएको आर्थिक वर्षमा बाढी र पहिरोबाट प्रदेशमा ३१ जनाको मृत्यु भयो। त्यस्तै ३२ जना घाइते भए। बाढीबाट मात्र प्रदेशभर एक अर्ब दुई करोड ७० लाख ३८ हजार नौसय ३४ रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। यो अवधिमा प्रदेशभर दुई सय ९४ स्थानमा बाढी गएको थियो। त्यस्तै पछिल्लो एक वर्षको अवधिमा कर्णालीमा एक सय ३८ स्थानमा पहिरो गएको छ। जसमध्ये दैलेखमा ६, कालिकोटमा चार, हुम्लामा चार, डोल्पामा १४, जाजरकोटमा ४५, सल्यानमा १३ र रुकुमपश्चिममा ५२ स्थानमा पहिरो गएको छ।

पहिरोबाट ६४ करोड २८ लाख सात हजार चार रुपैयाँ बराबरको क्षति भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। चट्याङबाट ८५ लाख १४ हजार, हावाहुरीबाट एक करोड ३५ लाख ८५ हजार नौंसय र आगलागीबाट एकअर्ब १५ करोड ६४ लाख आठ हजार आठसय ७० रुपैयाँ बराबरको क्षति भएको छ। यो अवधिमा आगलागीबाट सुर्खेत, जुम्ला, सल्यान र रुकुमपश्चिमा गरी चार जनाको मृत्यु भएको छ। त्यस्तै जुम्ला र डोल्पामा चार÷चार स्थानमा हिमपहिरो जाँदा एक जनाको मृत्यु र एक जना घाइते भएका छन्। यसबाट २७ लाख ३८ हजार चारसय रुपैयाँ बराबरको क्षति भएको छ।

सबैभन्दा धेरै क्षति सुर्खेतमा
कर्णालीका दश जिल्ला मध्ये प्राकृतिक प्रकोपबाट सुर्खेतले सबैभन्दा बढी क्षति व्यहोरेको छ। तथ्याङक अनुसार गएको आर्थिक वर्षमा बाढी पहिरो, हावाहुरी र आगलागी जस्ता घटनाबाट सुर्खेतमा एकअर्ब ४२ करोड ८२ लाख चार हजार ६ सय रुपैयाँ बराबरको क्षति भएको छ। त्यस्तै दैलेखमा ६ लाख ८२ हजार सात सय पाँच रुपैयाँ, कालिकोटमा ६५ लाख एक हजार ६ सय, जुम्लामा पाँच करोड ५० लाख तीन हजार ७० रुपैयाँ, मुगुमा ९४ करोड ४३ लाख ३४ हजार ६ सय, हुम्लामा तीन करोड २४ लाख तीन हजार दुई सय, डोल्पामा ९८ लाख, २९ हजार सात सय ७६ रुपैयाँ, जाजरकोटमा ७६ करोड ४४ लाख आठ हजार ६ सय ५६ रुपैयाँ, सल्यानमा ५१ लाख १५ हजार र रुकुमपश्चिममा चार करोड १७ लाख ६२ हजार रुपैयाँ बराबरको क्षति भएको छ।

सतर्कता अपनाउन मुख्यमन्त्रीको निर्देशन
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विपद्बाट जोगिन र क्षतिलाई कम गर्नेतर्फ सतर्कता अपनाउन निर्देशन दिएका छन्। पछिल्लो समय बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपले धनजनको क्षति हुन थालेपछि उनले यसको प्रतिकार्यमा केन्द्रित हुन सुरक्षा निकाय र जनप्रतिनिधिलाई निर्देशन दिएका हुन्। मुख्यमन्त्री शाहीले अबको तीन महिना प्रतिकार्यका खटिनुपर्ने बताए। विपद्को जानकारी हुने वित्तिकै उद्धार कार्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ। वर्षायामको शुरुवातसँगै बाढी, पहिरो, डुवान र सडक अवरोध लगायतका विपद्का घटनाहरु बढ्ने भन्दै मुख्यमन्त्री शाहीले उच्च सतर्कता र प्रतिकार्यको तयारीलाई बलियो र प्रभावकारी बनाउनुपर्ने बताए।

उनले जनपथ प्रहरीको नेतृत्वमा हरेक स्थानीय तहमा उद्धार टोली निर्माण गरी सक्रिय बनाउने, उद्धार कार्यका लागि आवश्यक सामग्रीको व्यवस्था मिलाउने, विपद्बाट प्रभावित समुदायको लागि खाद्यान्न, लत्ताकपडा लगायतका वन्दोवस्तीका सामग्री व्यवस्थापन गर्ने, यातायात पहुँच भएका क्षेत्रमा एम्वुलेन्स र पहुँच नभएका क्षेत्रका लागि हेलिकोप्टर तयारी अवस्थामा राखिने बताए। त्यस्तै पहिरोका कारण सडक अबरुद्ध हुन नदिन जोखिमपूर्ण सडकहरुमा स्काभेटर तयारी अवस्थामा राख्न पनि निर्देशन दिएका छन्। annapurnapost

प्रतिक्रिया