पहिरोमा परेर कालिकोटमा ८ जना बेपत्ता, १ जनाको शव फेला

पहिरोमा परेर कालिकोटमा ८ जना बेपत्ता, १ जनाको शव फेला

जिल्लाको खुलालु लालु सडक खण्डको गर्खे भीरमा खसेको पहिरो ।

कालिकोट साउन १३ गते । जिल्लामा सोमवार राति परेको अविरल वर्षासँगै आएको पहिरोमा ८ जना बेपत्ता भएका छन् । कालिकोट जिल्लाको रास्कोट नगरपालिका–१ बडलतोलामा एकैघरका ५ जना बेपत्ता भएका छन् । बडलतोलाका जयबहादुर शाहीको घर पहिरोले बगाउँदा उनीसहित उनका २ छोरा, १ छोरी र साली पहिरोमा बेपत्ता भएका छन् ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोलाका अनुसार शाही, उनकी १५ वर्षीया छोरी संगिता शाही, १२ वर्षीया कौशा शाही, ८ वर्षीय छोरा नविन शाही र १५ वर्षीया साली अस्मिता शाहीसहित उनी बेपत्ता भएका छन् । सान्नी त्रिवेणी गाउँपालिका–७ की केशुरा शाही पनि घर भत्किँदा पुरिएकी छन् । बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । ‘प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेका छन् । जिल्लाबाट थप प्रहरी घटनास्थलतर्फ गइरहेको छ,’ उनले भने, ‘कर्णाली करिडोर अन्तर्गत रास्कोट–९ मा बेलिब्रिज पुल भाँचिएको छ भने झोलुङ्गे पुल खोलामा आएको बाढीले भत्काएको छ । अहिले आवागमन बन्द भएको छ ।’

रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले सोही वडाको चोक्टेबगरमा टेके टमाटा, छोरी यशोदा टमटा र झाँउरे दर्जीकी पत्नी बेपत्ता भएका बताएका छन् । चारैतिरबाट पहिरो खसिरहेका कारण अहिले ९ घर उच्च जोखिममा रहेको उनले बताए । ‘उद्धारका लागि टोली खटिइरहेको छ । नेपाल प्रहरी र श्रम रोजगार दल त्यहाँ पुग्ने प्रयास गरिरहेका छन् । मौसम प्रतिकूल छ । पानी परिरहेको छ,’ उनले भने, ‘अहिले जयबहादुर शाहीको शव भेटिएको छ । स्थानीयले जति सक्छन् उद्धार गर्ने र तत्काल हेलिकप्टर बस्न नसक्ने अवस्था कायम छ ।’ गृह मन्त्रालयसँग हेलिकप्टरबारे कुरा भइरहेको उनले बताए । ‘मौसममा थोरै सुधार हुने वित्तिकै उद्धार कार्यमा तीव्रता आउँछ । अहिले पनि उद्धार कार्य भने जारी नै छ,’ उनले भने । लाेकान्तर

प्रतिक्रिया